निर्देशक तथा निर्माता मिलन चाम्सको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुँदैछ । गोर्खालीको वीरताको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘गोर्खा वारियर’ बनाउने मिलनको सपना जति पुरानो छ, त्यति नै प्रिमियर गर्ने पनि ।
आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको प्रिमियरमार्फत मिलनको दुई सपना पुरा हुँदैछ । प्रिमियरको तयारीसँगै प्रचारप्रसारका लागि उनि बेलायत पुगेका छन् । ‘यहाँ भेटघाट गर्दै प्रिमियरको विषयमा जानकारी गराउदैछु’,मिलनले भने । उनले गोर्खाली अभिभावकलाई स-परिवार प्रिमियरमा सहभागी हुन् आग्रह गरे । ‘अभिभावकले यो फिल्म आफ्नो सन्तानलाई देखाउनु पर्छ । गोर्खालीको वीरता नयाँ पुस्तासम्म पुग्नु जरुरी छ’, निर्देशक मिलनले भने ।
यस्तै,प्रिमियरमा सहभागी हुन् बेलायतस्थित रेडीङमा रहेका नेपालीले बस नै रिजर्भ गरेका छन् । आफ्नो पुर्खाको गौरवतालाई प्रस्तुत गरिएको कथालाई पहिलोपटक पर्दामा हेर्न उत्साहित रेडीङमा रहेका नेपालीले दुईवटा बस रिजर्भ गरेर प्रिमियरमा सहभागी जनाउनेछन् । उनीहरूले सामाजिक सञ्जालमार्फत यसको जानकारीसमेत गराएका छन् । उक्त दुई बसमा एकसय पचास जनाले सहजै यात्रा गर्न सक्नेछन् । बेलायतमा पहिलोपटक हुँदै गरेको प्रिमियरलाई लिएर विभिन्न योजना बनिरहेको निर्माता तथा निर्देशक चाम्सले बताए ।
‘बेलायतमा रहेका नेपालीहरूले आफ्नो अनुकुलता अनुसार फिल्म हेर्ने योजना बनाईरहनुभएको छ । बस नै रिजर्भ गरेर फिल्म हेर्न आउने संवत बेलायतमा पहिलो नै हो । उहाँहरू गोर्खालीको वीरतालाई सेलिब्रेट गर्न चाहनुहुन्छ’, निर्देशक चाम्सले भने । उनले अन्य क्षेत्रबाट समेत प्रिमियरमा सहभागी हुने सन्दर्भमा विभिन्न योजना बनेको जानकारी दिए ।
हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त हलमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको फिल्म प्रिमियर भइसकेको जानकारी दिए ।
निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारी दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।
नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
प्रतिक्रिया