एमालेका दुई युवामाथि खुकुरी प्रहार, टीकापुरमा गुण्डाराज कायमै, दोषी माथी कडा कारवाहीको माग

इनेप्लिज २०८० असार २७ गते २१:३२ मा प्रकाशित

धनगढी असार २७÷कैलाली जिल्लाको पूर्व क्षेत्र लामो समयदेखि अशान्तिको चपेटामा छ । दैनिक गुण्डागर्दी, लुटपाट, लागुृऔषधको कारोवारका कारण कैलालीको पूर्व क्षेत्र आक्रान्त बनेको छ ।

टीकापुरमा पटक—पटक हत्या र आक्रमणका घट्ना भइरहन्छन् । यसपटक पनि मंगलबार राति दुई जना युवालाई खकुरी प्रहार गरिएको छ ।

नेकपा (एमाले ) कैलालीका जिल्ला कमिटी सदस्य प्रकाश खड्का र एमाले निकट राष्टिय युवा संघ कैलालीका सदस्य वम ओलीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहारबाट घाइते भएका दुवै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए । अर्यालकाअनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।

आक्रमणपछि शाह समूह फरार छ । शाह नेपाली काँग्रेस निकट रहेको पनि खुलेको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैवीच नेकपा (एमाले) कैलालीले एक विज्ञप्ती जारी गरेर आक्रमणकारी समूहले राज्य सत्ताको संरक्षणमा पूर्वी कैलालीमा आतंक मच्चाइहेको जनाएको छ । यस्तै नेकपा एमाले टीकापुर नगर कमिटीका अध्यक्ष धुर्व खत्रीले पनि एक विज्ञप्ती प्रकाशित गरि एमालेका युवा नेता प्रकाश खड्का र युवा संघका बल ओलीमाथी ज्यान लिने गरि गरिएको खुकुरी प्रहारमा संलग्नमाथी कडाभन्दा कडा कारवाही नगरेको खण्डमा एमालेले शसक्त आन्दोलन गर्न बाध्य हुने पनि चेतावनी दिइएको छ ।

आक्रमणमा घाईते भएका एमाले कैलाली जिल्ला कमिटी सदस्य प्रकाश खड्काले आफुले विगत लामो समय देखि टीकापुर क्षेत्रमा हुने सबै खालका बिसंगति बिकृतीका विरुद्धमा बोल्दै आएका कारण माफिया र केहि राज्य सत्ताको आडमा काँग्रेसीहरुले आफुमाथी आक्रमण गरेको बताएका छन् ।

प्रतिक्रिया