‘बगानको कथा मन परेर निर्माणमा सहकार्य गरें’:करिश्मा मानन्धर

इनेप्लिज २०८० असार १९ गते १३:२६ मा प्रकाशित

काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरको सुन्दरताको चर्चा धेरै नै हुने गर्छ । सयौं चलचित्रमा अभिनय गरिसकेकी करिश्मा निर्मात्री पनि हुन् । आफ्नो करिअरको उग्र समयमै निर्मात्री बन्नुभएकी करिश्मा आउँदो असार २९ मा प्रदर्शन हुने चलचित्र ‘बगान’ मा दुवै भूमिकामा छिन् । उनले अभिनयसँगै निर्माणमा समेत सहभागिता हुनुमा कथालाई कारक मानेकी छिन् ।

‘हामीले काम गर्दै जादा निर्माणमा समेत सहकार्य गर्यौं । सरोज (सरोज खनाल) डेब्यु र कथावस्तु राम्रो भएकाले निर्माणमा समेत जोडिए’, उनले भनिन् । उनले चलचित्रमा एकल आमाको भूमिका निर्वाह गरेकी छिन् । विशेषत चलचित्र नै उनी र उनको छोरी (प्रमिला कार्की) कै वरिपरि घुमेको छ । एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरिएको भूमिकालाई महसुश गर्न करिश्माले आमालाई नै सम्झीईन् ।

‘मेरो आमामार्फत बुझेको कुराहरुलाई यसमा प्रयोग गरेकी छु । यो एकल महिलाको जीवन, उसले समाज र परिवारमार्फत राख्ने अपेक्षामा केन्द्रीत छ । केही अव्यक्त तथ्यलाई समेत यसमा प्रस्तुत गरिएको छ’, करिश्माले भनिन् ।

सार्वजनिक गीतसङ्गीतमार्फत करिश्माले चर्चा बटुलिरहेकी छिन् । उनको सुन्दरतासँगै पात्रलाई जीवन्त बनाउन गरेको प्रयाशले सार्थकता पाएको छ । निर्देशक सरोज खनालले पनि अभिनेत्री मानन्धरको सुन्दरता अभिनयमार्फत व्यक्त भएको बताए । उनले भने,‘करिश्मा निकै राम्रो कलाकार हुन् । म उनको को–स्टार भएर काम गरेकाले उनको अभिनय क्षमतासँग परिचित थिएँ । त्यसैले यसमा उनको क्षमतालाई बाहिर ल्याउने कोसिस गरेको छु ।’

अभिनेत्री मानन्धरले पनि धेरै चलचित्रमा कमर्सियल रुपमा प्रस्तुत भएको बताइन । ’निर्देशककै अनुसार कलाकार प्रस्तुत हुने गरेका छन् । हामीले काम गर्दा त्यहिँ अनुरुप गरेका थियौं’, करिश्माले भनिन्,’बगानमा कालाकार र मेरो को–स्टार रहिसकेका सरोज निर्देशक भएपछि झनै सहज भयो । उनले अभिनयको दुवै पाटोलाई बुझेकोले पनि पात्रमा जीवन भर्ने कोसिस गर्यौँ ।’

उनले चलचित्र ’बगान’ स–परिवारले हेर्नु पर्ने बताईन् । परिवार र समाजको बीचमा एक्लै रहकी एकल महिलाको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । ‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौँ । एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ’, करिश्माले भनिन्,’यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ । त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुश गर्नुहुनेछ ।’

‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

प्रतिक्रिया