विश्वासको मतका लागि प्रस्ताव पेश

इनेप्लिज २०८० असार १४ गते २२:०७ मा प्रकाशित

विराटनगर, १४ असार(रासस): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको छ ।

कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८(४) बमोजिम सो प्रस्ताव पेश गर्नुभएको हो ।

प्रस्ताव पेश गर्दै मुख्यमन्त्री कार्कीले गएको पुस २५ गते निर्माण भएको यो सरकार बनेको केही समय पछि नै विश्वासको मत लिनु पर्ने बाध्यता आउनु राष्ट्रिय राजनीतिकमा नराम्रो असर पर्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक स्थितिलाई सुदृढ एवं बलियो बनाउन पनि स्थिर सरकारको आवश्यकता रहेकाले यहि सरकारलाई दिगो दिन सबै राजनीतिक दलसँग विश्वासको मत माग्नुभयो ।

मुख्यमन्त्री कार्कीले मेरो नेतृत्वमा बनेको सरकारले ५२ औँ दिनकै अवधिमा प्रदेशको नामकरण गर्न सफल भएको बताउँदै मुलुकमा असल संस्कृति बसाल्न सरकारलाई विश्वासको मत दिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले सरकारमा सहभागी जसपा र नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि उत्पत्र परिस्थितिमा बाध्य भएर अध्यादेशबाट बजेट ल्याएको बताउँदै सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत खर्च गर्ने क्षमता बढाएको बताउनुभयो ।

उहाँले प्रदेश कोषलाई कमजोर हुन नदिन विधि र प्रक्रियाबाट योजनाको काम थालनी भएको स्पष्ट पादै यो सरकार सुशासनको हकम राम्रो काम गरेको दावी गर्नुभयो ।

सो प्रस्ताव निणर्याथ अहिलेसम्म पेश भएको छैन भने प्रस्ताव पछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादु आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले कोशी प्रदेश सरकारमा विश्वासको वातावरण नदेखिएकाले विश्वासको मत दिन नसकिने बताउनुभयो भने राप्रपा संसदीय दलको तर्फबाट अम्बरबहादुर राईले हाम्रो दल अहिले पनि सरकारमा सहभागी भएकाले सरकारले मागेको विश्वासको मतको पक्षमा रहेको बताउनुभयो ।

यसैगरी, नेकपा एमाले संसदीय दलका तर्फबाट लीलाबल्लभ अधिकारीले सरकारले थोरै समयमा धेरै रचनात्मक कार्य गरेको र अहिलेको विषम परिस्थितिलाई सहज बनाउन, दिगो शान्ति र स्थीर सरकारलागि वर्तमानसरकारलाई विश्वासको मत दिनु पर्ने अन्य दलसँग आग्रह गर्नुभयो ।

संसदीय दलको तर्फबाट बोल्ने क्रममा जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूलाई सभामुख बाबुराम गौतमले बोल्नका लागि रोष्टममा बोलाउँदा उहाँले बोल्न अस्वीकार गर्नुभयो ।

त्यसपछि आधा घन्टाका लागि स्थगन भएको सदन तीन घण्टा बित्न लाग्दा पनि प्रारम्भ भएको छैन ।

सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहेपनि सभा १ः५० मा प्रारम्भ भएको थियो ।

प्रतिक्रिया