लुइभिल, केन्टकी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको राष्ट्रिय भेला शनिवार केन्टकी राज्यको लेक्जिनटन शहरमा हुने भएको छ । एमाले महासविच शंकर पोखरेलको प्रमुख आतिथ्यता र एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईको विशेष उपस्थितिमा हुन लागेको भेलामा अमेरिकाका २६ राज्यवाट प्रतिनिधिहरु सहभागी हुनेछन् ।
राष्ट्रिय भेलामा सहभागी हुन महासचिव पोखरेल र विदेश विभाग प्रमुख भट्टराई अमेरिका आइपुग्नु भएको छ ।
कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी, उत्तर अमेरिका क्षेत्रीय कमिटी, राष्ट्रिय कमिटी, तथा राज्य कमिटीका पदाधिकारी, सदस्य र विभागीय जिम्मेवारीमा रहेका करिब २०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहने ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
भेलामा डा. दिनेश पौडेलले बहुध्रुवीय विश्वमा असंलग्नता, अवसर र चुनौति, डा. रुद्र अर्याललले हिमालय क्षेत्रमा जलवायु परिवर्तन र नेपालमा यसको वातावरणीय प्रभाव, डा. सतिशा देवकोटाले समावेशी समृध्दि र दिगो विकास, नेपालको सर्वाङ्गीण विकासको बाटो र डा. कृष्ण ढकाल र छवि पाण्डेले संयुक्त रुपमा राष्ट्रिय हितको कसीमा गैरआवासीय नागरिकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
भेलाले नेपालको समसामयिक राजनीतिक परिस्थिति, ज्ञान,सीप, प्रविधि र लगानी नेपालभित्र भित्र्याउन ओएनएफ, एनआरएन लगायतका महत्वपूर्ण संस्थाहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विगतको समीक्षा गर्दै भावी कार्यदिशा र कार्ययोजना तय गर्ने ओएनएफका सहसचिव तथा भेला प्रचार संयोजक थोमस वास्तोलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया