काठमाडौं महानगरले लगायो दर्ताविना सञ्चालनमा रहेका दुइ अस्पतालमा ताला

इनेप्लिज २०८० जेठ ३० गते १:४७ मा प्रकाशित

काठमाडौं, दर्ता नै नगरि सञ्चालनमा रहेका दुईवटा अस्पतालमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

दर्ता नगरि सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा हिजो सोमबार कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो ।

स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराएका कामपा जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए ।

उनी भन्छन, ‘मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटि र लापरबाहीले मानिसको ज्यान जान सक्छ ।

गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ । दर्ता नै नगरि सञ्चालन हुने स्वास्थ्य संस्था न सरकारप्रति जिम्मेवार छन्, न नागरिकप्रति यसकारण बन्द गरिएको हो ।’

बन्द गरिएका दुवै अस्पताल १५र१५ शय्यामा सञ्चालन भएका छन् । चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए ।

त्यस्तै, सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको आउने गरेका बताइएको थियो । विभागले लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध गराए/नगराएको बारे नियमित निगरानी र अनुगमन गरिरहेको छ ।
यही जेठ पहिलो हप्ता नै काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिएका थिए ।

यो सुविधा दिनका लागि महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानूनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, अस्पतालजन्य फोहरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन पनि सम्बन्ध भएका सबै निकायलाई कामपाले यसअघि नै निर्देशन दिएको छ ।

प्रतिक्रिया