ईन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थान, नयाँ दिल्लीमा के भएको थियो ?

इनेप्लिज २०७९ फागुन ३० गते २२:३६ मा प्रकाशित

केहि दिन अघि ईन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थान नयाँ दिल्लीको टर्मिनल ३ मा कतार एयरवेजका ग्राउण्ड स्टाफले विनाकारण अपमानित र दुर्ब्यवहार गरी हामीलाई हवाईयात्रा गर्न दिएनन्। जसको कारण मेरी श्रीमती र म करिब दुई दिनसम्म नयाँ दिल्लीमा नै यात्राको उपाय खोज्दै भौतारिन पर्यो। मार्च ७, २०२३ मा, हामीले कतार एयरवेजको फ्लाइट नम्बर QR ५७१ बाट दोहा हुँदै न्यु योर्कको JFK उड्नु पर्ने थियो। हामी चेक-इनको लागि पर्याप्त समयमा नै एयरपोर्टको टर्मिनल ३ को Row M मा पुगेका थियौं। तर हामीले न्यु योर्क प्रस्थान गर्न चाहिने बोर्डिङ्पास लिनका लागि चेक-इन काउन्टरसम्म पनि पुग्न पाएनौं।

हामी चेक-इन लाइनमा हुदा एयरलाइनको एकजना एजेन्टले हामीलाई रोकेर हाम्रो पासपोर्ट र हवाईयात्रा टिकेट मागे जो स्वभाविक हो। हामीले उसलाई हाम्रो राहदानी र टिकटको विवरणहरू देखायौं। हामी नेपाली राहादानी धारकहरू JFK जाने र दोहामा ले ओभर भएको थाहा पाएर, उसले चेक-इन लाइनमा अघि बढ्न दिएन। उसले हामीलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट NOC पेश गर्न भन्यो। हामीले उसलाई जे भन्नु पर्ने थियो सो स्पस्ट रुपमा भन्यौं। हामीले भन्यौं, “हामीसँग एनओसी छैन, हाम्रो अन्तिम गन्तब्य न्यू योर्क JFK हो, दोहामा छोटो लेओभर हो यसकारण हामीलाई NOC आवश्यकता पर्दैन।” त्यसपछि उसले हामीलाई लाइनबाट बाहिर निकाल्यो।

यसबेलासम्म पनि उसले हाम्रो राहदानीको पहिलो पाना समेत खोलेर हरेको थिएन। हामीसँग भएको राहाधानीको बैधानिकता र हामीसँग वैध अमेरिकी भिसा वा रेसिडेन्सी कार्ड छ वा छैन भनी सुनिश्चित गर्नुको सट्टा उसले कतार हुँदै कुनै पनि गन्तव्यमा जान मिल्दैन भनी निराधार तर्क गर्दै हामीलाई होच्याउन थाल्यो । त्यसपछि उसले हाम्रो राहदानीको विवरण डेस्कमा भएको रजिस्टरमा लेख्यो। अनि अर्को एजेन्टलाई बोलाएर, “Document Issue” भन्दै उसलाई हाम्रो राहदानी थमायो। उसले हाम्रो राहदानी कहाँ र किन लगेको हो हामीलाई थाहा भएन।

हामी अलमलमा पर्यौं र Helpless भयौं। बारम्बार हामीले उसलाई हामी कानुनी रुपमा अमेरिकाको स्थायी बासिन्दा हौं र हामीलाई न्यूयोर्कमा उडान गर्न दिनुहोस भनि विनम्र अनुरोध गर्यौं। तर उसले हाम्रो बिन्ती सुनेन। उसले हामीसँग वैधानिक अमेरिकी आवास अनुमति कार्ड (Legal Permanent Resident Card) छ कि छैन भनेर सोध्ने प्रयास पनि गरेन।

हामीले विनम्रतापूर्वक समाधानका लागि उसको सुझाव माग्दा, उसले भन्यो, “उडान गर्ने भए तिमीहरुको राजदूतावासमा गएर NOC लिएर आओ। त्यो (NOC) हाम्रो नीति होइन, यो तिमीहरूको सरकारको आवश्यकता हो। तिम्रो सरकारको NOC बिना कुनै हालतमा उडान गर्न पाउदैनौं। उss, पर हेर, त्यो शौचालय नजिकै, टिभी स्क्रिनको छेउमा तिमीहरुको सरकारको नोटिस छ।” उसले हामीलाई कुनै पनि अपराधीलाई गरेजस्तो व्यवहार गर्यो। यो एजेन्टले हामीलाई नराम्ररी अपमानित (insult) र उत्पीडन (harassment) गरेको हामीले महसुस गर्यौं।

एयरलाईन्सको यो एजेन्टले गैरजिम्मेवार र कम्पनीको कर्मचारी आचार संहिता र हवाई यात्रु सेवा कार्यसम्पादन निर्देशिकालाई उलङ्घन गरीरहेका थियो। साथै हाम्रो सरकारको तर्फबाट राजदुतावासले जारी गरेको सर्कुलरलाई पालना गरिरहेको थिएन। उसले हाम्रो राहदानी राम्रोसँग जाँच गरेन । उसले हामीलाई हाम्रो भिसा वा रेसिडेन्सी कार्ड देखाउन पनि भनेन। उसले हाम्रो कुरा बुझ्ने प्रयास समेत गरेन। उसले यस अवस्था बारेमा आफ्नो सुपरभाईजरसँग परामर्श पनि गरेन। उसँग एयरलाइन्स एजेन्टको रूपमा काम गर्न आवश्यक ज्ञान र अद्यावधिक जानकारी नभएको जस्तो देखिन्थियो। हामी पक्कागरी भन्न सक्छौं कि उसले आफ्नो एयरलाइन्सको ग्राहक सेवा दिशानिर्देशनहरूलाई पालना गरिरहेको थिएन। उसले गरेको पेशागत मर्यादाको बेवास्ता, उसको घमण्ड, छुद्र दुर्व्यवहार र अव्यवसायिक कार्यले हाम्रो यात्रालाई जोखिममा पार्यो।

यस्तो तनावपूर्ण क्षणमा, हामीले कतार एयरवेजको ग्राहक सेवामा फोन गर्‍यौं। तर हामीसँग कुरा गर्ने ग्राहक सेवा एजेन्टले पनि हामीलाई उचित सहयोग गरेन। हाम्रो कुनै गल्ती नै नभए पनि टर्मिनलमा भएको एजेन्टलाई NOC नदिई कतार एयरवेजको यो उडान वा अन्य उडान गर्न नसक्ने भन्यो । उसले पनि हाम्रो अवस्था बुझ्ने प्रयास गरेन । हामीले उसलाई हाम्रो लागि वैकल्पिक यात्राको व्यवस्था गरिदिन अनुरोध गर्‍यौं ताकि हामी घर जान सकौं। तर उसले सो पनि गर्न नसक्ने बतायो । यो उसको अधिकार बाहिरको कुरा हो भन्यो। उसले यो उडान रद्द गरेर अर्को उडान बुकिङ गर्नुबाहेक हाम्रो लागि केही गर्न नसक्ने भन्यो। नयाँ टिकट पनि २ दिन पछिको लागि मात्र उपलब्ध हुने रहेछ। त्यसको लागि एक जनाको $2900 र आफुसँग भएको टिकटको पनि थप क्यान्सिलेसन फी तिर्नुपर्ने रे।

हाम्रो केहि उपाय भएन। हामी अति तनाव, चिन्ता र निराशाको अवस्थामा पुग्यौं। मार्च १० तारिख न्यू योर्को एल्महर्स्ट हस्पिटलमा मेरी श्रीमतीको डाक्टरसँग Appointment थियो। उनी Type 2 Diabetic र High Blood Pressure को विरामी हुन। पुर्व निर्धारीत यात्रा अवधीभरको लागी भनेर ल्याएको ओषधि पनि सकिदैछ। उनको आवश्यक ब्लड टेस्ट गरेर डाक्टरसँग परामर्श गरेपछि दवाईको मात्रालाई फेरबदल गर्नुपर्ने थियो। अहिले आएर उनको स्वास्थ्य जोखिममा पर्न सक्ने चिन्ता भईरहेको छ। अब हाम्रा लागि बाकी रहेको विकल्प भनेको काठमाडौं जानु र सकेसम्म चाँडो घर फर्कने उपाय खोज्नु बाहेक अर्को विकल्प थिएन।

मार्च ८ को साँझ हामी नयाँ दिल्लीबाट नेपाल एयरलाएन्सको उडानबाट काठमाडौंमा ल्याण्ड भर्यौं। मार्च ९ मा हामी काठमाडौंस्थित कतार एयरवेजको कार्यालयमा गयौँ र नयाँ दिल्ली विमानस्थलमा हामीलाई के भएको थियो सबैकुरा बतायौं। उनीहरूसँग हामीलाई जतिसक्दो चाडो उडान टिकट उपलब्ध गराउन अनुरोध गर्‍यौं। तर उनीहरूबाट पनि हामीले जुन सहयोग पाउनु पर्ने हो सो पाएनौं। उनीहरुले हामीलाई कतार एयरवेजको दोहास्थित प्रमुख कार्यालयमा सम्पर्क गर्न भने।

मार्च १० मा हामीले एयरवेजको दोहास्थित प्रमुख कार्यालयमा दिल्लि घटनाको विस्तृत विवरण सहित जतिसक्दो चाँडो निःशुल्क फिर्ति टिकट उपलब्ध गराउन र पेशागत मर्यादा भन्दा बाहिर गई Protocol पालन नगरी हामीलाई उत्पीडन (harassment) गर्ने सम्बन्धित स्टाफ/एजेन्टलाई उचित कार्यबाही गर्न निवेदन पेश गर्यौं। हामीले निवेदनको साथमा उपलब्ध गराउनु पर्ने सबै कागजातहरु पनि पेश गर्यौं। उनीहरुले प्राप्त गरेको जानकारी बाहेक आज १२ तारिख बित्न लाग्दा समेत कुनै जवाफ आएको छैन।

अहिले पनि हामी काठमाडौंमा छौँ। दिल्लिस्थित राजदुतावासले पनि हामीलाई NOC नचाहिने कुरा स्पस्ट पारेको छ। अमेरिकाको बैध प्रबेशाज्ञा (Visa) वा स्थायी आवास अनुमति (Permanent Resident Card) बाहकलाई भारतिय हवाई अड्डाबाट खाडी मुलुक भएर जाने यात्रुलाई मार्च १, २०२३ देखि NOC नचाहिने भन्ने कुराको सर्कुलर दुतावासले फेब्रुवरी २७ मा जारि गरी सबै एयरलाईन्सहरूलाई र सम्बन्धित सबै निकायहरुलाई फेब्रुवरी २८, २०२३ मा नै सुचना उपलब्ध गराईसकेको थियो भन्ने कुरा हामीले दुतावासबाट जानकारी पाएका छौं।

कतार एयरवेजका एजेन्टहरूको निच दुर्व्यवहारका कारण हामीमाथि यावत समस्या आईलागे। र यसले हाम्रो जीवनका धेरै क्षेत्रहरूमा अति नराम्रो असर पारेको छ। हामी कतार एयरवेजसँग इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने एजेन्टले हामीलाई गरेको दुर्व्यवहार र उत्पीडनको लागि आवश्यक अनुशन्धान गरी निजलाई कारबाही गर्न आग्रह गर्दै, हामीलाई चाँडो भन्दा चाँडो उपयुक्त क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्दछौं।

राम चन्द्र भण्डारी
एन आलेनो पेसेयी
हाल: काठमाण्डौ, नेपाल
मितिः मार्च १३, २०२३

प्रतिक्रिया