मौलापुर मधानी महोत्सवको उद्घाटन उपराष्ट्रपति पुनबाट

इनेप्लिज २०७९ माघ २१ गते १८:१० मा प्रकाशित

भुवन केसी, पवन सिंह तथा इन्दु सोनालीसहित चर्चित कलाकारहरुको सहभागिता रहने

रौतहटको मौलापुर नगरपालिकाले केही वर्षदेखि गर्दै आएको मधानी महोत्सवलाई यस वर्ष पनि विशिष्ट बनाउने भएको छ । महाशिवरात्रीको अवसरमा आयोजना हुने मौलापुर मधानी महोत्सवमा उपराष्ट्रपति नन्दकिशोर पुनदेखि नेपाली र भारतीय चर्चित सिनेकर्मीहरुको सहभागिता रहने बताइएको छ ।

मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा फागुन ५देखि ७ गतेसम्म मधानी महोत्सव हुने भएको छ । फागुन ५ गते मधानी महोत्सवको उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा हुने मौलापुर नगरपालिकाले जनाएको छ ।

मौलापुर नगरपालिकाद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रिनाकुमारी साहले महाशिवरात्रीको अवसरमा तिन दिन चल्ने मधानी महोत्सवको उद्घाटन फागुन ५ मा उपराष्ट्रपति पुनले गरी महायज्ञ प्रारम्भ हुने बताएकी छन् । सोही दिन नेपालका चर्चित नेपाली कलाकार भुवन केसी तथा चर्चित भोजपुरी गायिका इन्दु सोनालीको पनि प्रस्तुति रहने नगर प्रमुख साहले बताएकी छन् ।

२०७६ देखि पुरातात्विक महादेव मन्दिर पतौरामा मधानी महायज्ञको सुरुआत नगरपालिकाद्वारा गरिएको थियो । २०७६ को पहिलो मधानी महायज्ञको उद्घाटन सम्मानीय राष्टपति विद्यादेवी भण्डारीबाट भएको थियो ।

मधानी महोत्सवको दोस्रो दिन फागुन ६ मा महाशिवरात्री परेको छ । महाशिवरात्रीको दिन मधानी महोत्सवको मूल दिन हुने र विभिन्न धार्मिक कार्यक्रम संचालन गरिनुका साथै भोजपुरी सिनेमाका चर्चित कलाकारहरु पवन सिंह, काजल राघवानी लगायतको पनि प्रस्तुति हुने बताइएको छ । यसै गरी फागुन ७ गते अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गरिने र देवा थापासहितका चर्चित कुस्तीवाजको पनि प्रस्तुति रहने नगरपालिकाले जनाएको छ ।

यसै गरी हरेक महोत्सवको अवधिमा हरेक रात शिव मन्डलीद्वारा शिवलिला प्रदर्शन हुने बताइएको छ । पत्रकार सम्मेलनमा नगर उपप्रमुख योगेन्द्र राय यादव, वडाध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहसहितको उपस्थिति रहेको थियो ।

मौलापुर ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिर देशको १०० पर्यटकीय गन्तव्यमा परिसकेको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरपालिकाले प्रयास गरिरहेको छ । मन्दिर क्षेत्रमा विभिन्न पुरातात्विक सम्पदा पनि फेला परेको छ ।

विभिन्न समयमा पुरातत्वविद्हरुको टोलीले पुरातत्व विभागको निर्देशनमा उत्खनन पनि गरेका छन् । हजारौँ वर्ष पुरानो संरचना पुरातात्विक महादेव मन्दिर परिसर र आसपासको क्षेत्रमा पाएको छ ।

सञ्जय साह मित्र, रौतहट

प्रतिक्रिया