प्रधानमन्त्री ट्रुडो नेपाली रेस्टुरेन्ट हाक्का खजानामा: ओटवामा शाखा खोल्न आग्रह !

मदन बस्नेत, क्यानाडा। २०७९ माघ ६ गते २२:३० मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत मंगलबार विन्डसोरमा नेपालीले संचालन गरेको हाक्का खजाना रेस्टुरेन्टमा पुगेर नेपाली परिकारहरुको स्वाद लिएका छ्न्।

करिब दुई घण्टाको बसाईको क्रममा उनले त्यहाँ नेपाली परिकार म:म: र चिल्ली चिकेन खाएका थिए भने क्यानडाको बजारमा नेपालीले पहिलो पटक उत्पादन गरेको बियर “उत्सव बियर” पनि पिएका थिए।

प्रधानमन्त्री ट्रुडोले समय समयमा आफ्नो व्यक्तिगत समय बिताउन र साना व्यवसायहरूलाई उत्प्रेरित गर्न विभिन्न प्रान्तका स्थानीय स्टोरहरू र रेस्टुरेन्टहरू भ्रमण गर्ने गरेका छ्न्। त्यसै क्रममा यसपटक उनी आफ्नो साथीहरूसंग विन्डसोरको नेपाली हाक्का खजानामा पुगेका हुन्।

रेस्टुरेन्टका प्रबन्धक भरत केसीले बिना पूर्व जानकारी अप्रत्याशित रुपमा प्रधानमन्त्री ट्रुडोलाई आफ्नो रेस्टुरेन्टमा देख्दा आफू आश्चर्यमा परेको बताएका छ्न्। केसीका अनुसार प्रधानमन्त्री ट्रुडोले नेपाली परिकारहरु अत्यन्तै स्वादिष्ट भएको र पहिलो पल्ट खाएको म: म: पनि निकै मन पराएको बताएका छ्न्।

प्रधानमन्त्री ट्रुडोले रेस्टुरेन्टका प्रबन्धक केसीलाई नेपाली मौलिक खानाको मुक्तकण्ठले प्रसंशा गर्दै त्यस्तो रेस्टुरेन्टको शाखा राजधानी ओटवामा पनि खोल्न आग्रह गर्नु भएको थियो।

रेस्टुरेन्टमा आएका वाकइन ग्राहकहरु आफूसंगैको टेबुलमा प्रधानमन्त्री ट्रुडोलाई देखेर तीन छ्क्क परेका थिए। छुट्टिने बेलामा प्रधानमन्त्री ट्रुडोले रेस्टुरेन्टका सबै स्टाफहरुसंग सामुहिक तस्वीर पनि खिचाएका थिए।

बिन्डसोरको हाक्का खजाना क्यानाडामा रेस्टुरेन्ट र घरजग्गाको ब्यबसायमा सफल ब्यबसायी मदन केसी (माइक) र उनको टिमले संचालन गरेको हाक्का खजाना रेस्टुरेन्ट मध्यको एक हो। उनको टिमले नेपालीहरुको बाक्लो बसोबास भएको क्यानाडाको सबै जसो शहरहरुमा हक्का खजानाको रेस्टुरेन्टहरु संचालनमा ल्याएको छ।

हालसम्म मिसिसागा, स्कारब्रो, लण्डन अन्टारियो, विण्डसोर, च्याटम र सरिनामा संचालनमा रहेको हक्का खजानाको थप शाखा अन्यत्र पनि बिस्तार गर्ने योजना रहेको बुझिएको छ।

सफल ब्यबसायी मदन केसी “माईक” ले हाक्का खजानाको निकै आत्मीय आतिथ्य, सस्तो, मीठो र गुणस्तरीय खानाले सबैलाई मोहित बनाईरहेको सन्दर्भमा प्रधानमन्त्री ट्रुडोको पछिल्लो भ्रमणले थप उत्साहित बनाएको बताउनु भएको छ।

वहाँले आफ्नो रेस्टुरेन्टबाट प्रधानमन्त्री ट्रुडोलाई सन्तुष्ट बनाएर पठाउन पाउँदा निकै गर्वको अनुभुती भएको बताउँदै हाक्का खजानाको सम्पूर्ण टिमलाई बिशेष धन्यवाद ज्ञापन पनि गर्नु भएको छ।

प्रतिक्रिया