आइतबार बिहान पोखरास्थित सेती खोंचमा भएको यति एयसलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका– ५ का एकै परिवारका ४ जनासहित पर्वतका १० जनाको निधन भएको छ ।
बिहादी–५ उराम पुर्ख्यौली घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका जमुना शर्मा, उनका छोरा युवराज शर्मा, नातिनी आयुर्दी शर्मा र नाती बेबी शर्माको निधन भएको हो । छिमेकी विष्णु भुसालका अनुसार बिहादी–४ वाहाकीको सिर्वानेडाँडास्थित माइतीघरमा आयोजित पूजामा सहभागी हुन काठमाडौंबाट आउँदै थिए ।
‘उहाँ(जमुना)को माइतीघर सिर्वानेडाँडामा सप्ताह रहेछ,’ भुसालले भनिन्, ‘त्यही पूजामा सहभागी हुन छोरा र नातीनातिनालाई लिएर आउँछु भन्नुभएको रहेछ । यस्तो नियति भोग्नुपर्यो ।’ परिवारकै मृत्युको खबरले बिहादी गाउँपालिका नै शेकमग्न भएको गाउँपालिका अध्यक्ष प्रविण गुरुङले बताए ।
कुश्मा–९ का अरुण पौडेल गत साता मात्रै गाउँबाट काठमाडौं फर्किएका थिए । काठमाडौंमै बसोबास गर्ने उनी पछिल्ला वर्ष गाउँ र काठमाडौंमा आधाआधी बसोबास गर्थे । केही दिनअघि सहपाठीहरु(२०४९ को एसएलसी समूह)को सामूहिक वनभोजमा सहभागी भएका उनी श्रीमती सुत्केरी भएकोले अलि समय गाउँ नफर्किने बताएर फर्किएको सहपाठी महेश तिवारीले बताए ।
प्रतिक्रिया