नयाँ वर्ष २०२३ को शुभकामना संदेश !

इनेप्लिज २०७९ पुष १८ गते १:२२ मा प्रकाशित

नयाँ वर्ष २०२३ को सुखद उपल्यक्षमा आफ्नो कर्म थलो तथा जन्म भूमिमा रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले तपाईँ हामी सबैमा थप जोस जाँगर र ऊर्जा सिर्जना गर्दै प्रगति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।

सम्बत् २०२२ लाई बिदाइ गरी २०२३ को आगमन सँगै २०२२ मा गैर आवासीय नेपाली संघ अमेरिकाले गरेका कार्यहरूको समीक्षा पनि गर्नुपर्ने हुन्छ। यस वर्ष हामीले महत्त्वपूर्ण उपलब्धिको रूपमा झोलामा अफिस राखेर हिँड्नु पर्ने संस्थाको आफ्नै भवन खरिद गर्न सम्भव भएका छौ। नेपालको विकट सल्यान जिल्लामा प्रसूति गृहको सञ्चालन देखि अमेरिकामा समेत विभिन्न सामाजिक कार्यहरू गर्दै प्रवासी नेपालीहरूको हरपलको साथीको रूपमा आफूलाई उभ्याउन सम्भव भएको छ। संस्थाले नेपाल सरकार, अमेरिका स्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसंगको सहकार्य तथा सम्पूर्ण सदस्यहरूको सहयोग र सद्भावमा गैर आवासीय नेपालीहरूका मागलाई सार्थकता दिने कार्यमा टेवा पुर्‍याउन सम्भव भयो। संस्थालाई बाल्टिमोर काउन्टीबाट अमेरिकामा सेवा पुर्याएबापत सम्मान प्रदान गरिएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टिमको साथ क्रिकेट प्रतियोगिताको आयोजना तथा रुप स्मृति कपको आयोजना जस्ता प्रतियोगिताहरु गर्न समेत संस्था सफल भएको थियो।

गैर आवासीय नेपाली संघ, अमेरिकालाई सही मार्ग निर्देश गरेर अगाडी बढाउनको लागि खम्बाको रुपामा उभिएर हरेक गतिविधिमा साथ, सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरू, पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी तथा बोर्ड सदस्यहरू , संरक्षक परिषद् सदस्यहरू, मानार्थ परिषद् सदस्यहरू , सल्लाहकारहरू, क्षेत्रीय समितिका पदाधिकारीहरू, च्याप्टरका पदाधिकारीहरू, टास्कफोर्सहरु लगायत सम्पूर्ण समिति तथा उपसमितिहरू, सम्पूर्ण राज्यहरूमा रहेका स्थानीय संघ संस्था तथा प्रतिनिधिहरू तथा सम्पूर्ण सिङ्गो नेपाली समुदाय प्रति गैर आवासीय नेपाली संघ, अमेरिकाको तर्फबाट हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु ।

बुद्धि सागर सुवेदी
अध्यक्ष
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति :- जनवरी ०१, २०२३

प्रतिक्रिया