बरालकी आमा ‘स्यानी’ को सूक्ष्म अवलोकन

दधिराज सुवेदी, गोधूलि मार्ग, विराटनगर–३ २०७९ पुष ५ गते ३:०० मा प्रकाशित

शैक्षिक तथा प्रशासनिक क्षेत्रमा राम्रै ख्याति आर्जन गरेका खगराज बरालको ‘स्यानी’ (२०७७) पहिलो सन्सनीपूर्ण सामाजिक उपन्यास हो । यो भन्दा पहिला यिनले श्रमिक बरालको नामले विविध क्षेत्रका झण्डै डेढ दर्जन किताबहरू प्रकाशनमा ल्याई सकेका थिए । छद्म नामले लेखेर आफ्नै व्यक्तित्वलाई किन ओझेलमा पारेका हुन्, त्यस बारेमा म अनभिज्ञ छु ।

२०६५ सालमा परलोक प्रस्थान गरेकी आफ्नी आमाको स्मृतिमा लेखिएको यो ‘स्यानी’ उपन्यास तेह्र खण्डमा विभक्त छ । यसमा आमा (स्यानी) को संस्मरण, लेखककै आत्मवृत्तान्त र स्थानीय परिवेशको सुन्दर एवं आकर्षक वर्णन पाइन्छ । करुण रस प्रधान रहेको यो उपन्यासले गण्डकी प्रदेशको सजीव चित्र उतारेको छ । सामाजिक एवं समाजशास्त्रीय हिसाबले पनि यो उपन्यास अत्यन्तै उपयोगी रहेको अनुभूत हुन्छ ।

स्थानीय लवजको ग्रामीण भाषा प्रयोग गर्दै जाँदा लेखकले पुरुष प्रधान सामाजिक थिचोमिचोमा परेर होला आमालाई ‘तिमी’ भनेका छन् । तर आजको फराकिलो र मर्यादित भाषामा यो अपाच्य मानिँदो रहेछ । मैले यस्तै सन्दर्भमा कान्तिपुरका प्रमुख कैलाश सिरोहियालाई सोधेको थिएँ– “तपाईँ घरमा बा आमालाई मर्यादित रूपले तपाईँ भन्नुहुनछ, कान्तिपुरमा समाचार लेख्दा राष्टपति विद्यादेवी भण्डारीले कान्तिपुर कार्यालयको उद्घाटन गरिन् भनेर लेख्नुहुन्छ, किन?” मेरो सार्वजनिक प्रश्नको उत्तर उहाँले दिन सक्नु भएन । त्यसैले आजको सन्दर्भमा आमालाई होच्याएर ‘तिमी’ न भन्दिएको भए सुनमा सुगन्ध हुने थियो ।

उपन्यासमा चिता रोएको छ, बराल रोएका छन्, मलामीहरू भक्कानिएका छन्, सम्पूर्ण परिवेश शोकमग्न बनेको छ । त्यसकारण उपन्यास अत्यन्तै संवेदनशील हुँदै उच्च कोटिको बन्न पुगेको छ । पञ्च तत्त्वले निर्माण भएको यो मानव शरीर आफ्नो नियमित क्रमअनुसार बढिरहन्छ । यो रोकेर रोकिँदैन अर्थात् जसरी आउँछ त्यसरी नै जान्छ भन्ने कुरा उपन्यासकार बराललाई थाहा छ तर पनि आमाले सधैं गन्ने तीनतारा बिहानी पख आकाशमा देखिए झैं आमा पनि देखिए हुन्थ्यो भन्ने बिलौना बरालको रहेको पाइन्छ ।

यस उपन्यासमा पौराणिक मिथक, लोकसंस्कार र संस्कृति, जीवन र जीवनी, मायामोह अर्थात् जीवन र जगत् कतै स्थूलरूपमा त कतै सूक्ष्मरूपमा समेटिएका छन् । मलाई लाग्छ– यो खगराज बरालको जीवन्त कृति हो, यसले उनकी ममतामयी माता ‘स्यानी’ र लेखक स्वयंलाई अमर राख्ने छ र यो कृति पनि कालजयी भएर रहने छ ।

यो सामाजिक उपन्यास हो । यसले लेखक जहाँ उभिएका छन् त्यस समाजको इतिवृत्त केलाएको छ । वैदिक कालदेखि नै चल्दै आएको काजक्रियाको मर्यादित परम्परालाई यसले अझ मर्यादित तुल्याएको छ । ग्रामीण परिवेशमा हुर्किएका रीतिस्थित र प्रचलनलाई पनि यसले बिर्सिएको छैन । हाम्रा संस्कार र संस्कृति अझ मर्यादित बन्न पुगेका छन् । उपन्यास एकोहोरो तरिकाले गन्तव्यको खोज गर्दै अगाडि बढेको छैन । समाजको विहङ्गावलोकन गर्दै अगाडि बढिरहेको छ र नै यो सामाजिक उपन्यासको पङ्क्तिमा उभिन सफल भएको छ । पूर्वजहरूले जोगाउँदै ल्याएको आदिम् मानव सभ्यतालाई कसरी जोगाउने भन्ने चिन्ता उपन्यासकारमा रहेको देखिन्छ । त्यसैले उपन्यास सरल, शान्त, शिष्ट र मर्यादित अनि ज्ञानबद्र्धक रहेको अनुभूति हुन्छ । जुनसुकै उपन्यासमा पनि स्वैरकल्पना रहन्छ नै ।

उपन्यासकार बरालका अभिव्यक्तिमा काव्यात्मकता छ, कौतुहलता छ, विषयको गहन अध्ययन गरिएको छ । मेरा कुरा भन्दै बरालले लेखेका छन्– ‘म हुर्किएको परिवेशमा प्रचलित स्वस्थानी ब्रतकथाको वाचन, लुतो फाल्ने परम्परा, नागपूजा, दाइँमा खलोपूजा, क्रियाकर्म आदिलाई आफूले भोगेअनुसार नै कथानक बनाएको छु । …कतिपय घटनाचाहिँ मेरी आमाका विश्वासका परिणति हुन् ।’ यी अभिव्यक्तिहरूले के बुझिन्छ भने आमा छोरा दुवै उपन्यासका मूल पात्र हुन् । यी पात्रहरूले कास्की (पोखरा) र स्याङ्जाको रनवन डुलेर उपन्यासभित्र पनि आफ्नो प्रधानता प्रस्तुत गरेका छन् । ‘रछ’ लाई ‘रच’ बनाउने जनजिब्रोको प्रयोग नगरेर मानक नेपाली भाषाकै प्रयोग गरिदिएका भए उपन्यास अझ गुणात्मक बन्थ्यो होला ।

लेखककै आत्म स्वीकृति अनुसार यस उपन्यासले सदाचार, सच्चरित्रता, इमान्दारी, कर्तव्यपालन, आत्मविश्वास जस्ता कुरालाई सार्वकालिक ठानेर अगाडि बढाएको छ । यसर्थ यो आदर्श समाजको परिकल्पना गर्ने सामाजिक उपन्यास हो । यो वर्तमान वादविवादबाट सवर्था मुक्त छ । लाग्छ– यस उपन्यासका लेखक खगराज बरालका आदर्श गुरु पनि रुद्रराज पाण्डे नै थिए ।

उपन्यासभित्र परदेश जाने मानिसको मृत्यु भयो भने मृतकको घरमा चिठी पठाउँदा सेतो धागोले बाँधेर पठाउने र धामी, झाक्रीका झारफुकका कुरा पनि छन् । यस्ता सन्दर्भले उपन्यासलाई वर्तमानबाट फर्काएर विगततिर पु¥याएको अनुभूति भएको छ ।

अन्त्यमा साङ्ग्रिला प्रकाशनले नेपाल भारतमका निमित्त सार्वजनिक गरेको यस उपन्यासले छोटो समयमा सर्वाधिक चर्चामा आउने अवसर पाएको छ । यसको कारण सरलता, स्पष्टता र आञ्चलिकता नै हो । आमाको स्मरण र छोराको जीवनमा आधारित यो उपन्यासको अर्को विशेषता प्रयोगधर्मी हुनु पनि हो । बरालका यस्ता अनौठा र मीठा उपन्यास अरू पनि पढ्न पाइयोस् भन्दै यो छोटो चिन्तन–मननबाट विराम लिन्छु । अस्तु । ‘शुभास्ते पचानः सन्तु’ इति ।

पुस्तकः स्यानी
विधाः उपन्यास
लेखकः खगराज बराल

संकरणः पहिला (२०७७)
प्रकाशन वर्षः २०७७
प्रकाशकः साङ्ग्रिला बुक्स प्रा लि
पृष्ठः २५७
मूल्यः ४७५

प्रतिक्रिया