खानेपानीको पैसा

– अरुणबहादुर खत्री “नदी” २०७९ असार ३१ गते २३:२३ मा प्रकाशित

 

विष्णु छिमेकी भावनाको घरमा धाराबाट पानी आउँदा एउटा जार लिएर खानेपानी थाप्न पुग्यो । धाराबाट पानी बगेर खेर गइरहेको थियो । खेर गइरहेको पानी उसले आफ्नो जारमा थाप्दै गर्दा भावनाको घरमा काम गर्न बसेकी विमलाले देखिन् र अनुहार बिगार्दै “खानेपानी हामीले नै थाप्न बाँकी छ” भनिन् ।

विष्णुले “तपाईहरुको धारामा आएको पानी खेर गइरहेको देखेर मैले थाप्न खोजेको हुँ नि” भन्यो । “म हाम्रो मालिक्नी साहेबलाई भरे अफिसबाट घर आइपुग्नु भएपछि नभनी कहाँ छोड्छु र ?” बिमलाले भनिन् । “मालिक्नी साहेबलाई के भन्नु हुन्छ नि ?” विष्णुले सोध्यो । “मालिक्नी साहेबलाई हामीले आफ्नो पानी राख्ने जार गाग्रीहरु भरेर नसक्दै तपाईले जार ल्याएर थाप्नु भएको भन्छु र तपाईले पानी थाप्न आउनु भयो भने खानेपानीको पैसा पनि तिर्नुपर्छ भनेर म नभनी कहाँ छाड्छु र” बिमलाले भनिन् ।

“अब आज मैले ल्याएको एउटा जार थापेर लग्छु अर्को दिन देखि यो धारामा पानी थाप्न म कहिले पनि आउदिन” विष्णुले भन्यो । अर्कोदिन चौबिसै घण्टा धारामा पानी दियो र धाराबाट आएको पानी खेर गयो र मालिक्नी साहेबले विष्णुलाई देखेर “हाम्रो धाराबाट आएको खानेपानी खेर गइरहेको छ आएर थापेर लैजानु नि” भनिन् ।
“तपाईको घरमा काम गर्न बसेकी विमलाले खानेपानी धाराबाट बगेर खेर जादै गर्दा मैले एउटा जार ल्याएर पानी थाप्न लाग्दा अबदेखि पानी थाप्न आउनु भयो भने पानीको पैसा तपाईले तिर्नुपर्छ नि मलाई भनिन् । पानीको पैसा तिर्नु पर्ने भएदेखि म पसलबाट नै जारको पानी किनेर ल्याएर खान्छु नि” विष्णुले भन्यो ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

 

 

 

 

प्रतिक्रिया