अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टि पुस्तकालयले “सत्र पुष्पपत्रहरुः हुर्कदै गर्दाका कथाहरु” का लेखक द्वय सुकृति एबम साइमन शर्मासंग हिजो थोमस जेफेर्सन पुस्तकालयमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्यो। प्रश्नोत्तर ढांचामा संचालित उक्त कार्यक्रममा लेखकहरुले आफ्नो लेखन एबम प्रकाशन यात्रा, लेख्ने प्रेरणा, पुस्तक प्रकाशन गर्नुका कारण, एबम भविष्यमा लेख्न लागेको बिषय वस्तुबारे प्रकाश पारेका थिए।
कार्यक्रम आयोजक थोमस जेफेर्सन पुस्तकालयका एक कर्मचारिले उक्त पुस्तक धेरैले पढ्नको लागि लिएर जाने गरेको र पुस्तकका कथाहरु प्रेरणादायि रहेको पाइएकोले पाठकहरुलाइ लेखकहरुसंग साक्षात्कार गराउने हेतुले उक्त कार्यक्रम आयोजना गरेको बताए।
अंग्रेजि भाषामा लिखित उक्त पुस्तक सारा विश्व कोविड-१९ को कहरमा नराम्रो संग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरू स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्याउने लक्ष्य हेतु लेखक द्वयले हातेमालो गरि सत्र पुष्प पत्र (Seventeen Petals) अमाजन किन्डलको सहयोगमा २०२० को सेप्टेम्बर महिनामा प्रकाशित भएको थियो।
फेयरफ्याक्स काउन्टि पुस्तकालय अमेरिकाका पुस्तकालयहरु मध्ये दोस्रो ठुलो पुस्तकालय प्रणालि हो जसका २३ वटा शाखाहरु भर्जिनियाका बिभिन्न शहर हरुमा अवस्थित छन। “सत्र पुष्पपत्रहरुः हुर्कदै गर्दा खेरिका कथाहरु” उक्त पुस्तकालयमा समावेश गरिएको छ जसलाइ सदस्यहरुले घरमा बसेर पढ्नको लागि लिएर जाने/नविकरण गर्ने गर्दछन।
कार्यक्रमलाइ मध्यस्थता गरिरहेका सहदेव पौडेलको निकट भविष्यमा कुनै पुस्तक प्रकाशित हुदै छ कि भन्ने प्रश्नको जवाफ दिदै सुकृतिले भनिन उनको आगामि पुस्तक त्यस्ता ब्यक्तिहरुको बारेमा हुने छ जो भिन्दा भिन्दै देश, समाज र संस्कृतिलाइ प्रतिनिधित्व गर्छन तर उनिहरुको उच्च अध्ययनको प्रायोजक भने एक पारिवारिक संस्था हो। ” मेरो आगामी पुस्तक एक ब्यक्तिका सपनाहरु कसरि अर्को ब्यक्ति वा संस्थाका उद्धेश्यसंग मिल्छन र चमत्कार घटित हुन्छ भन्ने बारेको एक प्रयास हुनेछ,” सुकृतिले भनिन।
प्रेरणाको बारेमा सोधिएको एक प्रश्नको जवाफ दिदै अर्का सहायक लेखक साइमनले भने, “यो पुस्तक हाम्रा अभिभावकहरुको मौखिक कथा बाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा पनि हो।
“यी कथा जो हाम्रो दिमागमा लामो समय देखि बसिरहेका थिए, यिनीहरुलाई अरु पाठक सम्म पुर्याउनको लागि पुस्तक लेख्न पाउदा हामीलाई खुशी लागेको छ,” उनले थपे।
कार्यक्रममा लेखकहरुले दुइ वटा छोटा कथाहरु पनि सुनाएका थिए।
उक्त पुस्तकले हाल सम्म २७४९.०९ डलर जम्मा गरी शरणार्थि शिविरमा पठाउने काम गरेको छ।
किन्डल डाइरेक्ट पब्लिसिङ्ग द्वारा बजार व्यवस्थापन गरिएको उक्त पुस्तकमा १७ वटा कालातीत कथाहरू छन् जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरूको बारेमा चर्चा गर्छन्: स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन , इच्छुकता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्ति।
बढ्दो उमेरका बालबालिकाहरुका लागि लक्ष्य गरि लेखिएको उक्त पुस्तकले पत्रकार, अखबारका सम्पादकहरू र विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनि अत्यन्त सकारात्मक समीक्षाहरू अमाजनको वेभ साइटमा प्राप्त गरिरहेको छ।
“आफ्ना कडा लेखहरुको माध्यमबाट बालबालिका हरुका लागि पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको पहिलो कथा संग्रहले युवा पाठकहरुको मन जित्ने कुरामा म ढुक्क छु,” अमेरिकाबाट प्रकाशित हुने ओज़ी डट कम नामक प्रसिद्ध अनलाइन पत्रिकाका सम्पादक ट्रेसी मोरानले सत्र पत्रको बारेमा लेख्छिन।
यी छोटा कथाहरू यति आकर्षक छन् कि सान फ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा टीका लम्साल भन्छन उनी पढ्दै जाँदा कथा यत्ति चाँडै अन्त नहोउन भन्ने चाहन्थे। ती कथाहरु पढ्ने बित्तिकै डा ढकालले भने कि उनले त्यो सानो पुस्तक तुरुन्त आफ्नी छोरी र त्यसपछि आफ्नो छोरालाई पढ्न दिए।
डा धर्म अधिकारीले उक्त पुस्तकको बारेमा लेखेका छन्, “नयाँ कोरोना भाईरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैन: जीवन भनेको अदम्य मानव भावनाको बारेमा हो, हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो, केवल साँचो अर्थमा ब्यूँझनको लागि हो।” डा अधिकारीले चीनको एक विश्वविद्यालयमा पत्रकारिता अध्यापन गर्छन।
South Asian in Mid South: Migration of Literacies नामक पुस्तकका लागि पुरस्कृत प्रोफेसर डा ईश्वरी पाण्डेले पुस्तकको अग्रलेखको शुरुमै लेख्छन्, “तपाईको यात्रा अब रमाइलो ज्ञानको लागि शुरु हुदै छ। दुई सुन्दर कथाकारहरुको यो अद्भुत संग्रह पढ्दा तुरुन्त महशुस हुञ्छ कि यी शब्दको सामान्य अर्थमा बाल कथा मात्र होइनन्। यि कथाहरु सबै उमेर समूहका लागि हुन्। यी कथाहरू पढे पछि म स्वयम्लाइ शान्त, सम्पूर्ण र अर्थपूर्ण महसुस भैरहेकोछ । तिनीहरूले तपाइँलाई पनि यस्तै (जादु) गर्न सक्छन्।”
लेखकहरुले यो पुस्तक आफ्नी ममतामयी आमा सोना शर्मा र हजुरआमा मिन्द्र कुमारीमा समर्पित गरेका छन।
प्रतिक्रिया