युरोपमा जी-७ शिखर सम्मेलन सुरु हुँदा रूसद्वारा युक्रेनको राजधानी कीभमा क्षेप्यास्त्र प्रहार ,१ जनाको मृत्यु ,५ घाइते

इनेप्लिज २०७९ असार १२ गते ११:५६ मा प्रकाशित

युरोपमा जी-७ शिखर सम्मेलन सुरु हुँदा रूसले युक्रेनको राजधानी कीभमा क्षेप्यास्त्र (मिसाइल)प्रहार गरेको छ । सिएनएनका अनुसार जी-७ राष्ट्रहरूका नेताहरू आफ्नो वार्षिक शिखर सम्मेलनको पहिलो दिन जर्मनीमा भेला हुँदा रूसले आइतवार युक्रेनको राजधानी कीभमा शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमणहरू गरेको छ।

युक्रेनको राष्ट्रिय प्रहरी बलका प्रमुख इहोर क्लाइमेन्कोले कीभको एक आवासीय गृह (अपार्टमेन्ट )मा रुसी क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताए ।

घाइते हुनेमा ७ वर्षीया बालिका समेत रहेको उनले बताए । उनको आमा, क्याटरिना नामकी ३५ वर्षीया महिलालाई भग्नावशेषबाट उद्धार गरी बिरामी बाहक रुग्णवाहन(एम्बुलेन्स)मा अस्पताल लागिएको छ । उनी रुसकी नागरिक हुन् तर लामो समयदेखि कीभमा बस्दै आएकी थिइन् ।

आक्रमणको दुई घण्टा पछि भवनबाट धुवाँको ठूलो मुस्लो निस्केको र माथिल्लो तल्लामा लगभग हरेक झ्याल उडेका थिए । युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनतले राजधानीमा प्रहार गर्नका लागि ‘रणनीतिक बमवर्षक’ प्रयोग गरिएको र चारदेखि छवटा क्षेप्यास्त्र प्रहार गरिएको बताए ।

उनले शनिबार युक्रेनी हवाई आक्रमणमा रुसले पहिलो पटक बेलारुसको हवाई क्षेत्रबाट टु२२एम३ लामो दुरीको बमवर्षक विमान प्रयोग गरेको बताए।

कीभका नगर प्रमुखका अनुसार आक्रमणमा मानिसहरु भग्नावशेषमुनि फसेका छन् । केही बासिन्दाहरूलाई बाहिर निकालिएको छ ।

दुई जना पीडितहरुलाई अस्पतालमा भर्ना गरिएको र उद्धारकर्ताहरूले आफ्नो काम जारी राखेका छन ,उनले भने।

प्रतिक्रिया