प्रादेशिक पत्रकारिता पुरस्कार चार जनालाई प्रदान

इनेप्लिज २०७९ जेठ २१ गते ०:१३ मा प्रकाशित

विराटनगर, २० जेठ । प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९ बाट आज यहाँ चार जना पत्रकारहरु पुरस्कृत एवं सम्मानित भएका छन् ।

पुरस्कृत हुनेहरुमा झापाका पत्रकार लीला बराल, सुनसरी इटहरीका कृष्ण विनोद लाम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र सञ्जय सन्तोषी राई छन् ।

उहाँहरुलाई जनही रु.एक लाख राशिको पुरस्कार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई पुरस्कृत प्रतिभाहरुलाई पुरस्कार एवं सम्मान प्रदान गर्दै पत्रकारिता समाजका ऐना हो बताउनुभएको छ ।

सत्ता र शक्त्तिलाई खबरदारी गर्ने पत्रकारिता क्षेत्रको निकै ठूलो योगदान रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले सूचना, चेतना, शिक्षासँगै न्यायको आवाज उठाउने यो पेशा मर्यादित छ भन्नुभयो ।

उहाँले पूर्णलोकतन्त्रको लागि दवाव शक्त्तिको भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने भत्रुभयो । आलोचनाले स्थान नपाए लोकतन्त्र खुम्चिन सक्ने भन्दै मुख्यमन्त्री राई आगामी आर्थिक वर्षको लागि सरकारले फरक ढङ्गले बजेट निर्माण गर्ने जानकारी दिनुभयो । बजेट निर्माणमा जनताका प्रतिनिधिहरुको सहभागिता गराएर ल्याउने बजेटले सार्थकता पाउने भन्दै मुख्यमन्त्री राईले भत्रुभयो, ‘ विगतको सरकारले धरातललाई बिर्सेर बनाएको बजेटबाट अहिले सरकारले आर्थिक दायित्व बढेको छ ।’

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले समाजको अभिभावकको भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रको योगदान समाजमा धेरै परिवर्तन आएको बताउनुभयो ।

अहिले पनि न्यायका निम्ति पीडित जनताले सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेकाले यो क्षेत्र मर्यादित एवं व्यवस्थित हुनु पर्ने भन्दै मन्त्री घिमिरेले समाजलाई सही मार्गमा डो¥याउन यो क्षेत्रले अझ बढि भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख सचिव डा रामप्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश सभापति लीलाबल्लभ घिमिरे, पुरस्कृत पत्रकार सञ्जय सन्तोषी राईले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया