विराटनगर,१९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स
क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् ।
लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गर्नु भयो ।
विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न उहाँले आग्रह गर्नु भयो । “महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठिन छ,” भन्दै प्रमुख कोइरालाले भन्नु भयो, “लायन्स क्लबजस्ता सामाजिक संस्थाको सहयोग गरेमा पक्कै विराटनगरवासीले सोचेजस्तो महानगर बन्नेछ ।”
लायन्स क्लबले विगतदेखि नै वृक्षारोपण, दैवीप्रकोप, विद्यालयको भौतिक संरचना निर्माणलगायतमा काम गर्दै आएको स्मरण गरे ।
त्यस्तै उपप्रमुख शिल्पा निराला कार्कीले लायन्सले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा प्रशंसा गर्दै महानगरलाई हरियाली र सुन्दर बनाउन लायन्स क्लबजस्ता सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताइन् ।
उहाँले विकास र समृद्धिका लागि महानगर हरेक क्षेत्रसित सहकार्य गर्न तयार रहेको प्रस्ट पारिन् । “तपाईंहरू प्रस्ताव लिएर आउनुहोस् विराटनगरको विकासका लागि महानगर त्यसमा सहकार्य गर्न तयार छ,” उनले भनिन्, “सडकको सौन्दर्यकरणमा पनि काम गर्न सकिन्छ मिलेर ।” त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान काउन्सिल चियर पर्सन राजन खत्रीले लायन्स क्लबले विगतदेखि नै सामाजिक कार्य गर्दै आएकाले महानगरसित सहकार्य गरेर विराटनगरको विकासमा केन्द्रित हुन तयार रहेको जानकारी दिए । “लायन्स चाहे २०७२ सालको भूकम्पमा होस्, चाहे बाढीपहिरोको समयमा होस्चा हे कोभिडको समयमा होस् धेरै काम गरेको छ,” उनले भने, “दैवीप्रकोपको बेला सबैभन्दा पहिला जिल्ला प्रशासनको फोन हामीलाई आउँछ ।”
उहाँले विगतमा भूकम्प, बाढीपहिरो, कोभिडलगायतका समस्यामा पनि लायन्सले महत्वपूर्ण कार्य गरेको उल्लेख गरे । लायन्स क्बलका पूर्व डिष्ट्रिक गभर्र्नर लीला ढुंगेलले पनि महानगरसित साझेदारी गरेर विराटनगरको विकासमा लागि पर्ने प्रतिबद्धता जनाए । सो अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीका द्वितीय भाइस गभर्नर विकास अधिकारी, क्लबकी एरिया प्रमुख अनुजा कोइराला, प्रशिक्षण विभाग प्रमुख डा. सन्देश दास श्रेष्ठलगायतले महानगरको विकासको यात्रामा हातेमालो गर्न तयार रहेको बताए ।
प्रतिक्रिया