भ्रष्टाचार नियन्त्रणबाट मुलुकमा समृद्धि कायम हुने – राप्रपा अध्यक्ष लिङ्गदेन

इनेप्लिज २०७९ जेठ १४ गते १५:४९ मा प्रकाशित


विराटनगर,१४ जेठ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताउनु भएको छ ।

विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा वृहत आम सभामा उहाँले राजनीति भनेको राष्ट सेवा भएकोले भष्टाचार नगरी जनताको हितमा कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष लिङ्गदेनले राप्रपाले भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको कारण स्थानीय पालिकाका विजयी प्रमुख, उपप्रमुखहरुले भ्रष्टाचार नगर्ने संकल्प गरी पदभार ग्रहण गर्ने गरेको उदाहरण देखिएको बताउनु भयो ।

उहाँले अव मुलुकमा रहेका ठूला पार्टीको विकल्प खोज्नु जरुरी रहेको छ भन्दै आगामी प्रदेश तथा संसदको निर्वाचनमा राप्रपाका उम्मेदवारहरुलाई प्रत्यक्ष तथा समानुपातिकमा विजयी बनाई मुलुकको नेतृत्वमा सहभागी गराउनु आग्रह गर्नु भयो ।

अध्यक्ष लिङ्गदेनले मुलुकको ठोस नीति नभएको कारण महंगी वृद्धि भइरहेको चर्चा गर्दै यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण हुनु जरुरी रहेको धारणा राख्नु भयो ।

नेकपा माओवादी केन्द्र परित्याग राप्रपामा प्रवेश गर्नु भएका गोपाल कट्वाल र वुढीगंगा गाउँपालिकाका मातृका पौडेलले ठूला दलको अदुरदर्शी नीतिका कारण मुलुकमा महंगी र भ्रष्टाचार वृद्धि भएको आरोप लगाउनु भयो ।

सभामा राप्रपाका महामन्त्री प्रल्हाद साह, सह प्रवक्त्ता दिनेश शाह, ,केन्द्रीय सदस्यद्वय केदार कोइराला र उमा थापा र जिल्ला अध्यक्ष माधव आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अध्यक्ष लिङ्गदेनले २५० जना भन्दा वढीलाई पार्टीमा स्वागत गर्नु भयो ।

प्रतिक्रिया