पोखरामा गठबन्धनको घोषणा : ‘महानगर स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्छौं-भिडियो सहित

इनेप्लिज २०७९ वैशाख २१ गते १०:१४ मा प्रकाशित

पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन्।यस्तै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने उनीहरुको योजना छ।

आफूहरु निर्वाचित भएमा मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुले जनाएका छन् । रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाईन रोजगार जस्ता बजार सेवा प्रदान गर्न महानगरभित्र मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुको प्रतिवद्धतापत्रमा उल्लेख छ।

यसैगरी रेमिट्यान्स परिचालन गरी पूर्वाधार निर्माण र उद्यमशिलता प्रर्वद्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्ने योजना उनीहरुको छ।परम्परागत सीप र उपकरणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायीकरण गर्ने साथै परियोजना धितोमा युवा व्यावसायीलाई १० लाखसम्म स्टार्ट अपका लागि ऋण लगानी गर्ने उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन्।

पोखरा महानगरमा सक्षम परियोजना सञ्चालन गरी ६ महिनामा ३ हजार रोजगारी थप गर्ने योजनाका साथ +२ सकेका युवालाई यसमा जोड्ने योजना गठबन्धनका उम्मेदवारहरुको छ।जसमा भाषा, होटल म्यानेजमेन्ट,मोबाईल मर्मत, कृषि स्रोत व्याक्ति, जडीबुटी संकलन, व्युटीसियन, प्लम्बिङ,ईलेक्ट्रिसियन, भेटेरीनरी,ईम्ब्रोइडरी,ह्याण्डलुम,वेटर जस्ता धेरै क्षेत्रमा सीपसँगै रोजगारी र उद्यशिलतामा जोड दिने घोषणापत्र मार्फत प्रतिवद्धता जनाइएका छन्।

प्रतिक्रिया