मर्दी र अन्नपूर्ण आधार शिविर पदमार्गको रुटमध्ये पर्ने भए पनि कास्कीको लान्द्रुक गाउँमा पर्यटकको त्यति साह्रो चहलपहल छैन।लान्द्रुकवासी अहिले हनी हन्टिङबाटै गाउँलाई चिनाउन कस्सिएका छन्।उनीहरूले भिरबाट मह निकाल्नु सामान्य भए पनि यसलाई पर्यटनसँग जोड्ने जुक्ति बनाएका छन्।
पर्यटकको आवागमन बढाउने उद्देश्यसहित कास्कीको अन्नपूर्ण गाउँपालिका-७,लान्द्रुकमा २१ देखि २३ मंसिरसम्म ‘हनी हन्टिङ फेस्टिबल २०७८’ हुँदैछ।डेढ दशकअघि पनि ठूलो जमघटसहित मह काढिएको थियो।त्यसपछि लान्द्रुकमा पर्यटकको चहलपहल बढ्यो।कोभिड-१९ ले पर्यटक कम हुन थालेपछि त्यहाँका स्थानीय पुरानै जुक्तिअनुसार पर्यटक बोलाउन जुटेका हुन्।
वर्षमा दुईपटक मोदी खोलाको किनारस्थित कोटेसाङ भिरबाट मह निकालिने भए पनि यो वर्षको दोस्रो सिजनमा महोत्सव नै गरेर स्थानीयले मह काढ्दै छन्।प्रत्येक वर्ष कात्तिक-मंसिर र वैशाख-जेठमा मह काढिन्छ।यसपालि तीनदिने महोत्सव गरेरै मह काढ्ने योजनासहित लान्द्रुकवासी पर्यटक बोलाउन जुटेका छन् ‘हाम्रो लागि मह काढेको हेर्नु नौलो होइन।तर,धेरैलाई नौलो विषय हो,’महोत्सवका प्रचारप्रसार संयोजक कमल गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने,‘कोभिड-१९ ले गाउँमा पर्यटकको चहलपहल घटेको छ।पर्यटन पनि राम्रो हुन्छ भनेर यो फेस्टिबल गर्न लागेका हौँ।’
गाउँकै अनुभवी ९ जना भिरौटेको टोलीले मह काढ्ने गुरुङले जानकारी दिए।मह काढ्नेबाहेक महोत्सव अवधिमा परम्परागत नौमती पञ्चेबाजा, पाहुनालाई स्थानीय धार्मिकस्थल (क्युप्च र दूधे बराह) को दर्शनको व्यवस्था र स्थानीय खानाको प्रवर्द्धन गरिनेछ।भिरमा झुन्डिनुपर्ने भएकाले हनी हन्टिङ निकै जोखिमपूर्ण हुन्छ।त्यसैले गाउँलेबाहेक अरुले महोत्सवमा मह काढ्न नपाउने संयोजक राम गुरुङले बताए।
‘यो काम एकदमै जोखिमपूर्ण हुन्छ।हाम्रो गाउँमा पहिल्यैदेखि यही काम हुँदै आयो।अहिले गाउँकै दाजुभाइले गर्नुहुन्छ,’ रामले भने, ‘बाहिरकाले काढ्न पाउँदैन।अर्कोपटक परिस्कृत गर्दै जान्छौँ ।’ महोत्सव गर्न गाउँपालिकाले १ लाख रुपैयाँ दिएको छ।विदेशमा रहेका र गाउँमै भएकाले पनि महोत्सव खर्च दिइरहेका छन्।
‘गाउँपालिकाले बजेटमै फेस्टिबलका लागि भनेर राखेको थियो।अरु विदेशबाट र गाउँलेबाट जुटाएका छौँ,’ संयोजक गुरुङले थपे,‘मह राम्रै पर्यो भने बेचेर पनि खर्च उठ्छ।’ महोत्सव सक्न साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान छ।भिरमौरीको मह २५ सयदेखि तीन हजार रुपैयाँ प्रतिलिटरमा बिक्रीवितरण हुने गरेको छ।
लान्द्रुकमा मह काढेको छायांकन गर्न नेपाली र विदेशी चलचित्रकर्मी पुग्ने गरेका छन् । पोखराबाट साढे दुई घण्टामा लान्द्रुक पुगिन्छ।पोखराको हरिचोकबाट बिहान ९ बजेदेखि ३ बजेसम्म लान्द्रुक जाने जिप पाइन्छ।होटल व्यवसायी विष्णु चापागाईंका अनुसार लान्द्रुकमा १३ वटा होटल र आठवटा होमस्टे छन्।होटलमा खानबस्न १२ सय रुपैयाँ र होमस्टेमा ८ सय रुपैयाँको प्याकेज व्यवस्था छ।
https://www.youtube.com/watch?v=NuG4vr3u5rg
प्रतिक्रिया