रौतहट,स्रष्टा सबैभन्दा माथि हुने साहित्यकार निर्मोही व्यासले बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा साहित्यकार राम पराजुलीलाई शिव–सावित्री सम्मान २०७८ प्रदान गर्दै नियात्राकार व्यासले स्रष्टाभन्दा कुनै पनि मानपदवी माथि नहुने बताउँदै स्रष्टालाई आफैमा ब्रह्मा भएको बताएका छन्।
शिव–सावित्री प्रतिष्ठान नेपाल तथा अविरल साहित्य समूह चन्द्रपुरद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीको अवसरमा आयोजित काव्य प्रशिक्षण, स्रष्टा सम्मान एवम् रचना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट नियात्राकार व्यासले एक सर्जकले सिर्जनाको प्रवाहलाई जता चाह्यो मोड्न सक्ने र जस्तो खोज्यो उस्तै सिर्जना गर्न सक्ने सामथ्र्य भएको कारण सर्जक सर्वोच्च हुने स्पष्ट पारेका छन्।व्यासले भने–विद्वान हुन सजिलो छ तर स्रष्टा हुन सजिलो छैन।
औपचारिक शिक्षा हासिल गर्दै नगरेका तर साहित्य सिर्जनामा सिद्धहस्त बाराका साहित्यकार राम पराजुलीलाई दश हजार रुपैया नगदसहित सम्मानपत्रले सम्मानित गर्दै व्यासले सिर्जनाले नै मानिसलाई अमर बनाउने बताएका छन्।
कार्यक्रममा भीम विराग संगीत,कला,साहित्य प्रतिष्ठान हेटौँडाका अध्यक्ष हयग्रीव आचार्य,बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण,आकृति क्रियसन हेटौँडाका राम अविकासनेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य,साहित्यकार सञ्जय साह मित्र,विशिष्ट बालसाहित्यकार यशु श्रेष्ठ,डा. शालीग्राम शर्मा,मनोज विश्वकर्मा,सौगात विश्वकर्मा,जीवन आचार्य,शंकर भट्टराईलगायतले मन्तव्य व्यक्त गर्दै भाषा र साहित्यले समाजमा दिएको योगदानबारे स्पष्ट पारेका छन्।सम्मानित प्रतिभाको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार रमेशमोहन अधिकारीले प्रकाश पारेका छन्।
प्रतिष्ठानका अध्यक्ष उत्तममोहन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा मकवानपुर,बारा,सर्लाही र रौतहटका साहित्यकारहरुको उपस्थिति थियो।कार्यक्रममा लक्ष्मण आचार्यले बालबालिकालाई कविता लेखनबारे प्रशिक्षण दिएका थिए।
प्रतिक्रिया