यथार्थको कसीमा ‘तमोरको सुसेली’ कथा सङ्ग्रह

डा खगराज बराल २०७८ असोज २६ गते ११:३२ मा प्रकाशित

नेपाली आख्यानको आधुनिक परम्परामा लक्ष्मीकिशोर सुवेदी ‘तमोरको सुसेली’ लिएर नयाँ स्वादमा आएका छन्।पेसाले माध्यमिक तहको विज्ञान विषयका शिक्षक सुवेदीले रुचिले साहित्य पढे पनि साहित्य लेखनमा प्रयास नै गरेका थिएनन्।उनीभित्र सुषुप्त रूपमा रहेको आख्यानात्मक शैलीले सामान्य घटनालाई पनि नाटकीकरण गर्ने क्षमता राख्छ भन्नु पुष्टि यही एउटै कथा सङ्ग्रहले गरेको छ।यही शैलीले हरेक सामान्य घटनालाई कौतुहलपूर्ण प्रस्तुति दिने शिल्प भएका सुवेदीका लागि साहित्य लेखनमा यो पहिलो प्रयास हो । यो पहिलो प्रयासले नै यस कथा सङ्ग्रहले शिक्षक लक्ष्मीकिशोर सुवेदीलाई कथाकार सुवेदी बनाइदिएको छ।कथा पढ्दै जाँदा सुवेदी चिरपरिचित पुराना लेखक हुन् कि भन्ने भान पर्छ । कथाका पढ्दा सामान्य लागे पनि कथाको विषयवस्तु, घटना, प्रस्तुति, शैलीका दृष्टिले नयाँ स्वाद दिन सफल कथाकार मान्न करै लाग्छ।

शिखा बुक्सले यही असोजमा सार्वजनिक गरेको कथा सङ्ग्रह ‘तमोरको सुसेली’ मा अठारओटा कथा रहेका छन्।अठारओटा कथालाई दुई सय बीस पृष्ठभित्र अटाइएको छ । कथाकारले मेरो भन्नुमा नै ‘यी कथा न कोही कसैका निजी र एकल भोगाइका कथा हुन् न त पूरै काल्पनिकताका उपज नै हुन्’ भन्दै कथाका घटना र पात्र यथार्थ र कल्पनाको समिश्रण भएका र प्रस्तुतिमा काल्पनिकताको जलप लगाएको कुरा स्वीकारेका छन् । कथा पढ्दै जाँदा प्रायः सबै कथा यथार्थ नै हुन् कि भन्ने भ्रम पाठकलाई पर्छ।

कथामा मानवीय मनोविज्ञान, विशेष गरी यौन मनोविज्ञान, का पत्रपत्र खोतल्ने प्रयास गरिएको छ । कथाकारले ‘मान्छेको वास्तविक अनुहार र प्रकट अनुहार सम्पूणै रूपले एउटै हुँदैन’ भन्दै स्पष्टाएका छन्।‘आफैँले आफैलाई त जस्ताको तस्तै देख्न सकिँदैन भने अरुको जीवनको सही र दुरुस्तै तस्वीर कसरी खिच्न सकिन्छ र ? मान्छेलाई जस्ताको तस्तै बुझ्न, देख्न र लेख्न पनि सकिँदैन’ भन्दै कथाकारले मान्छेका बाहिरी र भित्री अनुहार फरक देखिने कुरालाई मसिनो मनो–विश्लेषणसहित कथाहरू प्रस्तुत गरेका छन्।

‘तमोरको सुसेली’ यस सङ्ग्रहको पहिलो कथा हो । यसै कथाबाट सिङ्गो कथा सङ्ग्रको नाम जुराइएको छ।तमोर नदीका डुङ्गा चलाएर जीवन गुजारा गर्दै आएका माझीहरूको कथा बुनिएको छ । कालीमाया र कालबहादुरको प्रेमिल कथासँग उनीहरूको गरिबी र जीवन निर्वाहका सङ्घर्षपूर्ण दिनचर्यालाई मसिनो गरी केलाइएको छ । संवादात्मक शैलीमा प्रस्तुत यो कथामा भित्रभित्र सल्केको तर नदेखिएको आगो जस्तै यौन मनोविज्ञानलाई पस्किएको छ।कथाकार विज्ञान विषयको शिक्षक भएको झल्को कथामा पाइन्छः प्राकृतिक विज्ञानमा आगोले आगो निभाउँदैन (पृ.८) । कथाका संवाद साह्रै अनौपचारिक र बोलीचालीका छन्ः “ए काली, खान्छेस π ला बिँडी खा” संवादबाट सुरु भएको यो कथाका संवाद ज्यादै स्वभाविक र वास्तविक झै लाग्छन् । यस कथाले आगो, पानी, सुर्ती, पिरती र जाँड कहिल्यै जुठो हुँदैन भन्ने मर्मस्पर्शी सन्देश पनि दिएको छ।

यस कथा सङ्ग्रहको दोस्रो कथा ‘रोशी’ हो । यस कथामा शिक्षक मानव र उसकी विद्यार्थी (एक किसिमको धर्मछोरी) रोशीबिचको प्रेमलाई देखाउन खोजिएको छ । रोशीको वास्तविक नाम सीमाना हो । यो यस कथाको प्रतीकात्मक नाम पनि हो । आमाबाबु गुमाएको रोशीलाई मानव र उसकी पत्नी मर्यादाले माया ममता र छाहरी दिएर शिक्षादिक्षा दिन्छन् । विदेश पढ्न जाने समय रोशीले आफ्नो मन पर्ने शिक्षक मानवलाई अति नै प्रेम गर्छे र उसैबाट सन्तानको अपेक्षा राख्छे । कथा पढ्दै जाँदा पाठकलाई ज्यादै असजिलो महसुस हुन्छ रोशीको सोचाइका कारण । कथा संवादात्मक शैलीमा अगाडि बढेको छ । रोशीको प्रस्तावमा शिक्षक मानव धर्मसङ्कटमा पर्छ, निर्णयहीन हुन पुग्छ र अन्त्यमा रोशीकै विचारमा समर्पण हुन पुग्छ । यस कथामा शिक्षक मानवले परम्परागत मर्यादा नाघको छ, सीमाना नाघेको छ । कथामा केही मर्मस्पर्शी वाक्यहरू पनि छन्, जस्तैः दिमाग स्वार्थप्रेरित हुनसक्ला तर हृदय निस्वार्थ हुन्छ (पृ.१९), छोरीजस्तै भनेको छोरी हुनु होइन (पृ.१९), जीवन सोचेजति सरल हुँदैन (प.१९), उचित र अनुचित भन्ने कुरा निरपेक्ष हुँदैनन् । समाज र समयअनुसार बदलिन्छ (पृ.२३) । कथामा रोशीले आफ्नो सरलाई पति बनाएकी छ । हिजोआज पतिलाई पनि सर भनेको सुनिन थालिएको सन्दर्भमा रोशीको छोरीले ड्याडी भन्नुपर्नेमा रोशीले पनि ड्याडी नै भनेको व्यङ्ग्य कथामा पाइन्छः मैले आफ्नो भावी बच्चाको तर्फबाट हजुरलाई ड्याडी नाम दिएकी छु । अब म सधैं हजुरलाई यही नामले सम्बोधन गर्ने छु (पृ.२४) ।

यस सङ्ग्रहको तेस्रो कथा हो ‘सारिका’ । एक पत्नीसँग सम्बन्ध विच्छेद गरेको (डिभोर्सी) प्रौढ र युवतीको प्रेममा आधारित यस कथामा कथाकारले आफ्नो दार्शनिक छवि र चिन्तन घोप्टाएका छन् । उमेर भिन्नता, विचार भिन्नता र सिद्धान्त भिन्नतामा हुने बहस यस कथामा पाइन्छ । यौन मनोविज्ञानको उत्कृष्ठ कथा हो यो । कथाको म पात्र ललित सरिकालाई औधी नै मन पराउँछ तर आफ्नी पूर्व पत्नी सलिनाप्रति भने समर्पित छैन । युवती सरिकाले ललितको प्रस्तावमा सहमति जनाउँदिन । कथामा लेखकका दार्शनिक अभिव्यक्ति यसरी प्रकट भएका छन्ः असजिलो मेरो भनाइमा होइन, तिम्रो बुझाइमा छ (पृ.२८) । तर्कले दुनियाँ चल्दैन (पृ.२९) । जवानी बैंक ब्यालेन्स होइन । यसको ब्याज पाक्दैन, बरु भौतिक वस्तुजस्तै निरन्तर ह्रासकट्टी मात्र हुन्छ (पृ.३३) । ऊ आफ्नो भगवान्प्रतिको निष्ठा, विश्वास र प्रेमलाई सांसारिक रूप दिन चाहन्छ (पृ.३४) । हामी कहिल्यै पशुजस्तो स्पष्ट, निष्कपट, पारदर्शी र इमानदार हुन सक्दैनौं । पशुजस्तो सुखी र स्वतन्त्र हुन सक्दैनौं (पृ.३५) । आफ्नो भएर आफ्नो हुन नसक्नुभन्दा फरक रहेर आफ्नो भएको अनुभूति राख्नुमा जित छ (पृ.३८) ।

चौथो कथा हो ‘प्यारी किचकन्नी’ । यो पनि यौन मनोविज्ञानसँग सम्बन्धित कथा हो । प्रारम्भमा विमल (घरमा काम गर्ने केटा) को सम्बन्धमा सूचना दिँदै उसकै पूर्वदीप्तिबाट कथा उठान हुन्छ । हरिदास र जानकीका घरमा बस्ने विमल यामिनी, संयोग र कामिनी सबैको प्यारो हुन्छ तर कामिनीले उसलाई निकै माया गर्छे । विमलले हजुरआमाले सुनाएका पुराना कथा सम्झिन्छ । त्यसमा पनि किचकन्नीको कथाले उसलाई डर पैदा गराउँछ । हजुरआमाले भनेको किचकन्नीका उल्टा खुट्टा, डडाल्नु खोक्रो हुने कुरा सदा स्मरण गर्छ । हजुरआमाले भनेका कथामा स्थानीय भाषाको भएको छ । यस प्रयोगले कथामा मिठास थपेको छ । हजुरआमाको कथासँगै किचकन्नी र रातमा आएकी कामिनीको प्रसङ्गले पाठकका मनलाई कौतुहल बनाउँछ । कामिनी राती उसको ओछ्यानमा आउँदा पनि उसले किचकन्नी हो कि भनेर खुट्टा र डडाल्नु छाम्छ । कामिनीले यौन चाहना प्रकट गर्छे ।

पाँचौ कथा ‘एक थुङ्गा फूल’ हो।यो कथा सञ्चिता र लोमस सरबिचको प्रेम कथा हो । लोमस सर फरक उमेरकोे शिक्षक भए पनि सञ्चिताले आत्मिय प्रेम गर्छे, लोमस सरले पनि सञ्चितालाई।सञ्चिता र लोमस सरबिचको प्रेम थाहा भएर पनि त्यसलाई सञ्चिताको लोग्ने नवीनले सहज रूपमा लिन्छ । नवीनले लोमस सरको पार्थिव शरीरमा चढाउने मालाका साथ एक थुङ्गा गुलाबको फूल ल्याइदिँदा सञ्चिता चकित हुन्छे र पाठकले लोमस सरले सञ्चितालाई भनेको कुरा नवीनले कसरी थाहा पाएछ भनी अचम्म मान्छन्, कथामा सञ्चिताले माने जसरी । कथामा लेखकका दार्शनिक विचार पढ्न पाइन्छः आसुँले शायद केही दुःख बगाएर लग्यो (पृ.५६), सुखदुःख दुवै जीवनका अस्थायी प्रबन्ध हुन् । अझ यी आफैँमा केही होइनन्, केवल हाम्रै अनुभूतिका सत्ता मात्र हुन् (पृ.५७)। दुःखी नहुनु भनेको सुखी हुनु होइन । दुःखी नहुनु भनेको सुख र दुःखबिचको मध्यता हो, तटस्थता हो । मानव जीवनमा सुख पहिलो सर्त नै मान्छेले फलग् मान्छे भएर बाँच्नु हो (पृ.५७)। हामी नदीका ती किनारा हौं जो सधैंँ सँगै त रहन्छन् तर कहिल्यै एकअर्कामा मिल्दैनन् । ती मिल्न नदीको जीवन सकिनुपर्छ (पृ.५८) । जब सपना र चाहनाको बाटो छुट्टिन्छ, भौतिक बाटो छुट्टिन बेर नै लाग्दैन (पृ.५९) । अनुभव, माया, निष्ठा र समर्पण उमेर बढ्दैमा जानिने कुरा होइनन् (पृ.६०) ।

‘फाल्टु माइलो’ सोझो लिम्बुको कथा हो । साँच्चै नि यो कथा कथाकारको आफ्नै कुरुले गाउँतिरको कथा हो । त्यसैले यस कथामा आञ्चलिकताको भरपूर उपयोग गरिएको छ । फाल्टु माइलोको मृत्युपछि गाउँमा आएका उसका बाल सखाहरूको पूर्वदीप्ति पद्धतिमा यो कथा उनिएको छ । फाल्टु माइलाले बाल्यकालमा गरेका उट्पट्याङलाई पढ्दा पाठकलाई आफ्नो बाल्यकालको याद आउने गर्छ । फाल्टु माइलाको जीवन सङ्घर्षपूर्ण छ । जीवनको उत्तराद्र्धमा फाल्टु माइलाले गाउँमा आइ बसेर सबैको हित गरेकाले उसको स्मृतिमा बालउद्यान बनाइएको पनि उल्लेख छ ।

अर्को कथा हो ‘सुनिता भाउजू’ । यो पनि मनोविज्ञानमा आधारित कथा हो । यसमा दुईओटी श्रीमती भएको व्यस्त राजनीतिकको जीवन र उससँग यौनमा असन्तुष्ट दोस्रो श्रीमती सुनिताको कथा उनिएको छ । राजनेता राजुबाबुको मित्र लय जो विश्वविद्यालयमा पढाउँछ, जसले सुनितालाई भाउजू भन्छ, ऊ र सुनिताबिचका सम्बन्धले कथालाई उत्कर्षमा पु¥याएको छ । सुनिता श्रीमान् र धनसम्पत्तिबाट मात्र सन्तुष्ट नभएको उनको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । त्यसैले उनी कहिले काम गर्न बसेको केटासँग, कहिले पतिका साथीसँग नजिकिन्छिन् । लयले आफ्नो सीमा नाँघ्छ र पछुताउँदै जान्छ ।

अर्को कथा हो ‘जीवन एकः आयाम अनेक’ । यस कथामा एक दलित युवकको मनोदशालाई देखाइएको छ । छुवाछुतको विरुद्ध लाग्न उत्प्रेरित दलित युवक विजयलाई धर्म परिवर्तन गरेर क्रिस्चियन हुन्छ । ब्राह्मण थरकी क्रिस्चियन युवतीलाई प्रेम गरी बिहे गर्न खोज्दा ब्राह्मण क्रिस्चियन र दलित क्रिस्चियनबिचको फरक खोजिएको कुरा र बिहेका लागि जात सोधिएको रोचक प्रसङ्ग कथामा पाइन्छ । विजय उर्फ बाराकको धर्म परिवर्तन, बहुविवाह, विदेश पलायनपछि नेपालमा रहेका श्रीमती र छोरीको दुःखत अन्त्य, विदेशी श्रीमती स्टेला र छोराछोरी गरेको हेला र विजय फेरि नेपाल फर्केको विषयलाई रोचक कथानकमा विजयको जीवनका अनेक आयामका रूपमा प्रस्तुत गरिएको छ ।

कथा सङ्ग्रहको नवौं कथा हो ‘पागलप्रेमीहरू’ । यो कथा बडो तार्किक र दार्शनिक लाग्छ । पत्नीसँग सम्बन्ध विच्छेद गरेका लोग्नेमान्छे ललित र लोग्नेसँग सम्बन्ध विच्छ्द गरेकी स्वास्नीमान्छे अञ्जलीबिचको प्रेम र जीवन दर्शनसम्बन्धी बहस छ । यस बहसमा पर्याप्त तर्क छन् र दार्शनिक चिन्तन पनि छन् । लेखकले जीवनमा आर्जन गरेका ज्ञान र चिन्तनलाई यस कथामा ललित पात्रमार्फत व्यक्त गरेको जस्तो लाग्छ । कथामा ललित पात्र धेरै बोल्छ, अञ्जली कम । ललितका लामा लामा भाषण जस्ता संवाद छन् तर पट्यार लाग्दा छैनन् । आफू जस्तै अरू पनि प्रेममा पागल भएको देख्छन् उनीहरूले । वास्तवमा सबै जीवात्मा खाना, वास र विषय रागको फन्दामा फसेका पर्मानेन्ट पालग हुन् (पृ.१०९) । जताजतै प्रेममा पागल भएकालाई इङ्गित गर्दै ललित र अञ्जलीले एकैसाथ भन्छन् ‘हत्तेरिका पागलहरू’ ।

बाँकी नौओटा कथामा ‘रमा’, ‘साधु माधवेश्वर’, ‘स्वाभिमान’, ‘दिव्य स्वैरिण’, ‘जिन्दगीको बाटो’, ‘बृजलाल सर’, ‘अक्षता’, ‘मेरी पत्नी र ऊ’ र ‘नारी सुख’ हुन् । सबै कथा भिन्न भिन्न परिवेशमा लेखिएका छन् । ‘स्वाभिमान’ कथामा राजनीतिमा समर्पित एक इमानदार र अर्को अवसर लिने छट्टु नेताबिचको फरकपनलाई देखाइएको छ । यस सङ्ग्रहभित्र सबै कथा उत्कृष्ठ हुँदाहुँदै प्रस्तुतिका कारण ‘बृजलाल सर’ ज्यादै रोचक बनेको छ । स्कुलका पूर्व शिक्षकहरूको व्यवहारबाट दिक्क यौवनावस्थामा प्रवेश गरेकी युवतीले नयाँ शिक्षक बृजलाललाई पनि उस्तै सोचेर गरेको व्यवहार र पछि बृजलाल सरको चिठी पढेपछि पछुताउनु परेका घटनालाई बढो सावधानीपूर्वक र सचेनतापूर्वक कौतुहलपूर्ण बनाइएको छ । ‘अक्षता’ विज्ञान कथा हो । अक्षतालाई प्रेम गर्ने म पात्रले जब अक्षता रोबोट हो भन्ने थाहा पाउँछ त्यस समय कथाले उत्कर्षता पाएको हुन्छ।

कथा पढ्दा कथाकारले ठाउँ ठाउँमा उद्दरण गर्न मिल्ने दार्शनिक भनाइ राखेका छन् । वास्तवमा यस्ता भनाइ अनुभवहरूको निचोड हुन्, कथा लेखनमा सन्दर्भमा आएका चिन्तनको सार हुन् । यस्ता भनाइहरू हुन्ः सत्य त के हो भने उद्देश्य र गन्तव्यविहीन भएर जिउन सबैभन्दा कठिन हुन्छ (पृ.११३) । हुनत दुःख अनुभूतिजन्य कुरो हो । भौतिक सम्पन्नता र पारिवारिक पूर्णताले मात्र त्यो भरिन्न (पृ.११५) । विदेशबाट आएका फोन, भिडियोकल, फेसबुकमा फोटोसहित राखिएका मीठा शब्दहरूमा पाएको मायाले केही हुँदैन (पृ.११६) । साथ रहेर सपना टुट्नुभन्दा अलग रहेर सपनालाई निरन्तरछा दिनु असल हुन्छ (पृ.११९) । कोही ओछ्यानबाट उठेन भन्दैमा सूर्योदयको प्रक्रिया रोकिँदैन (पृ.१२४) । वास्तवमा लोग्नेमान्छे, पानी र हावा कहिल्यै रोकिँदैन । यदी कहीँ रोकिदियो भने ऊ कुनै अर्को दिशातर्फ प्रभाहित हुन थाल्छ (पृ.१४८) । मेरो व्यवहारमा होइन, हजुरको बुझाइमा त्रुटि भयो (पृ.१५४) । भगवान् भनेको अपजसको भय र जसको भोक नभएको अस्तित्वहीन अस्तित्व हो । सायद उसको जिम्मा लाएपछि मानिस थप तर्क, प्रष्टीकरण र प्रयासको झञ्झटबाट मुक्त हुन्छ (पृ.१५७) । जसरी सबै प्रेम सम्बन्धहरू दाम्पत्यमा पुग्न सक्छन् भन्ने छैन । त्यसैगरी सबै दाम्पत्यहरू प्रेममय हुन्छन् भन्ने पनि छैन (पृ.१८२) । जति कमजोरी र अभाव किन नहुन् संसारमा मान्छेको विकल्प छैन (पृ.१९४) । मान्छेको सिर्जना कहिल्यै पनि ईश्वरको सिर्जनाभन्दा राम्रो हुन सक्दैन (पृ.१९४) । जनता यस्तो समूह हो, जो सङ्गठित भएर न त समर्थन गर्छ न त प्रतिरक्षा नै (पृ.१९७) । मान्छेका अभिव्यक्तिले सधैं जे भनिन्छ, त्यही अर्थ बोक्दैनन् (पृ.१९९) । जीवनमा अनुभवभन्दा ठूलो शिक्षक कोही छैन (पृ.२०९) । वास्तवमा “सोच्यो” र “पायो” बीचको अन्तरको गणित नै जीवन हो (पृ.२०९) ।

कथामा अङ्ग्रेजी शब्दको प्रशस्त उपयोग गरेको पाइन्छः फस्ट स्टुडेन्ट, एक्ज्याक्ट, इन्टरमेडिएट, ड्याडी, च्यानल गेट, लक, ब्रेड, टप, क्लिप, थ्याङ्याक्यु, वर्थ डे, म्यारिज एनिभर्सरी, न्यु इयर, फ्रेम, सिनेमाका रिल, रिसिभ, सिनियर जुनियर, बाथरुम, मेडम, जस्ट वेट, एल्बम, भेन्टिलेट, एक्ससाइज, थ्याङ्क यु जिसस, पार्टनर, फुनमा, थोमस, स्टेला, क्यामिला, बाराक, इभर कम्ल्पेनिङ्ग वुमन, लुकास, डिभोर्सी, मेसेज, कन्ट्री भिल्ला, बियोन्ड लिमिट, वेभलेन्थ, पर्मानेन्ट, सेटल, फेसबुक, भिडियोकल, फोन, फोटा, सरप्राइज, सकिङ, प्रोफाइल, पिक्चर, मास्टर्स, रेस्टुरेन्ट, म्यारुन, कलर, सुट, ल्यापटप, रोबोट, एक्स्टा, ड्युटी, इन्टरकन्टिनेन्टल, सर्टपेन्ट ।

कथामा प्रयोग भएका शब्दको नवीन प्रयोग सान्दर्भिक लाग्छ, जस्तैः शिलाकरण, भौतिकीकरण, मानवीकरण । कथामा प्रयुक्त ‘जेरोक्स’ शब्दको अर्थ बुझ्न पाठकलाई कठिन हुन्छ । कथाहरूमा अरुण नदीतिरका आञ्चलिक शब्दको प्रयोग प्रशस्त भएको छः जस्तै कैलेइ, लु, हाउ, कैलेकाइँ, साद्दे, पाइन, केई, ठूटो, टेक, पातर, एस्सिमा, हटक, सेउले, उल्लोल, उइ, मात्तै, काले चिभे, फोक्टा, झुल चक्मक, छेरपाटी, टोड्का, लगौटी, तुक्र्यायो, तिमेरु, छेरुवाहेरु, मुला, भरे, बिगारसिङ, भोटेको एक्का, भालुमीत, कृष्णबिवर, विमाख, प्रसन्ना, प्रमदा, पासा, ढाड, मुखेन्जी, मा.., लीषत, जाँ…हरू, मु..हरू, काठा, कठ्मिरो, पैकार, खसी लोग्ने, भुत्रो, सेखपछि, कइलेई, राछेस, पड्नु, गरेस्, भर, गरिप, तेसका, हल्लुटाट, गर्जो, खँगार्दोरहेछ, खतुकी, पकाइपोलीमा, लपेटमा, बेडा, उलेली, उफान, छडौली, राछन्, रछ, उनेरु, छाड्देछन्, दोटी, उनेरको, तेसले, रका, बोक्सीहेरु, झ्याउलो, पुर्ताल, सोक्पा, बाजेबजू, वान, न्यासध्यान आदि । यस्ता शब्दको प्रयोग पाठकलाई नौलो लाग्न सक्छ तर शब्दको आसय बुझ्न भने कठिन हुँदैन । कथामा साँघुरी डाँडाको पनि चर्चा पाइन्छ ।

कथाहरूमा प्रयोग भएका केही शब्दहरू अपाङ्ग मैत्री छैनन् । यस्ता शब्दका सट्टा अपाङ्ग मैत्री शब्द प्रयोग गर्नुपथ्र्यो । लठेब्रो, अन्धा, बाउन्ने, लाटो जस्ता शब्द कथामा प्रसङग्वस प्रयोग भएका शब्दहरू हुन् तैपनि यस्ता शब्दका सट्टा सोझो, दृष्टिविहीन, होचापुड्का, बहिरा जस्ता शब्द प्रयोग हुनुपथ्र्यो । आगामी संस्करणमा अपाङ्गमैत्री शब्दहरू परिमार्जित भइ आऊन भन्ने सन्देश दिन चाहन्छु ।

कथाको भाषा सरल र रसिलो छ । कतै कतै भाषिक त्रुटि भेटिन्छन् । तिर्यकीकरण भएको छैन । केही अशुद्ध शब्दका लागि शुद्धाशुद्धिमा आगामी संस्करणमा ध्यान पु¥याउनु पर्छ ।

कथाहरू बिचबाट सुरु भएर बिचबाटै अन्त्य भएका छन् । कथाहरू औपदेशिक छैन । अधिकांश कथाहरू यथार्थमा घटित हुने किसिमका छन् । सायद यस्ता घटना घटिरहेका पनि छन् । कथाहरूमा वैचारिक द्वन्द्व ज्यादै नै पाइन्छ । कथामा तर्कको प्राधन्यता छ । कतिपय तर्क जवरजस्त पनि छन् । कथामा बढी नै यौन मनोविज्ञानलाई स्थान दिइएको छ । यति धेरै स्थान नदिएर पनि कथालाई प्रस्तुत गर्न सकिने थियो । अधिकांश कथा नवधनाढ्य परिवारको छ । सहरमा बस्छन् । कथाका पात्रहरू रेस्टुरेन्ट जान्छन्, त्यही खाना पनि खान्छन्, मोवाइल चलाउँछन्, एसएमएस गर्छन्, विदेशको कुरा गर्छन्, घरमा नोकरचाकर राख्छन् । खानदानी देखिन्छन् । खाइसियोस् र गइसियोस् लवजको भाषा बोल्छन् ।

समग्रमा विज्ञान शिक्षकबाट लिखित ‘तमोरको सुसेली’ भित्रका सम्पूर्ण कथा पठनीय छन् । कथा पढ्न सुरु गरेपछि समग्र कथा सङ्ग्रह सकिएको पत्तै पाइँदैन। कथावस्तु, पात्र र कथाको सन्देश छान्न निकै सिपालु कथाकारलाई आगामी दिनमा अझ सशक्त कथा लिएर आउने अवसर मिल्दै जाओस् शुभकामना।

कृतिः तमोरको सुसेली
विधाः कथा
लेखकः लक्ष्मीकिशोर सुवेदी
प्रकाशकः शिखा बुक्स
संस्करणः पहिलो (२०७८)
पृष्ठः २२०
मूल्यः रु.३७५÷–

प्रतिक्रिया