लघुकथा:कुभिण्डे भूँडी

-मित्र 'उराठी' गौतम ,अमरपुर- गुल्मी २०७८ साउन १८ गते १३:३९ मा प्रकाशित

बारीबाट घाँस लिएर फर्कंदा घर भित्र कल्याङ् मल्याङ् सुनिन् फूलमतीले ।
“ले ले यता खिच् ,हैन यसरी खिच् ,अलि उताबाट खिच् ”
बिच बिचमा खित्का छोडेको आवाज पनि सुनिन् ।
“हैन, गाउँ भरिका को को बटुलेर के गर्दै छे मखमली ?” – भन्दै हतार हतार भित्र पसीन् ।
“ल हेर ! विऊको लागि पालीमा राखेको कुभिण्डो सत्यानास पारे नि ।अझ मेरै मेक्सी लगाएर के गर्न आँट्यौ ए नखरमाउलीहरु ?”
हत्तपत्त मखमलीको हातबाट आफ्नो मोवाइल खोसीन् र एक एक गर्दै फोटाहरु हेरीन् ।
“लौ न के अलच्छिन् गरेका यस्तो ?” –च्याठ्ठिँदै सोधिन् फूलमतीले ।
भर्खर १२ वर्ष लागेकी मखमलीकी साथी मालतीले जवाफ दिन्छे- “ठूलो भूँडी देखाएर फेसबुकमा फोटो राखे भाइरल भइन्छ रे के अन्टी ।त्यसैले हजुरको मेक्सी लगाएर त्यस भित्र कुभिण्डो राखी फोटो खिचेको नि ”
“भोलि हेर्नु होला नि कति लाइक कमेन्ट आउँछ” – डराइ डराइ मखमलीले कुरा थपि।

–मित्र ‘उराठी’ गौतम ,अमरपुर- गुल्मी

प्रतिक्रिया