इन्सले भानु जयन्ती भव्यरूपमा मनाउने

सञ्जय साह मित्र÷रौतहट २०७८ असार २१ गते १६:४५ मा प्रकाशित

जहिल्यै पनि नेपालका लागि,जहाँ पनि नेपालीका लागि भन्ने मूल ध्येय लिएर गठन गरिएको अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को भाषा तथा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा दुई दिवसीय भव्य कार्यक्रम गर्ने भएको छ।कोरोनाको कारणले जूम प्रविधिबाटै दुई दिवसीय भव्य कार्यक्रम आयोजन गर्न लागिएको आयोजकले जनाएको छ।

पहिलो दिन असार २६ गते दिउँसो तीन बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भानुभक्तमाथि विमर्श कार्यक्रम हुने इन्सको भाषा तथा साहित्य समिति अध्यक्ष डा.जानुका नेपाल पौडेलले जानकारी गराउनु भएको छ।भानुजयन्ती विशेषको पहिलो दिन हुने भानुभक्तमाथि विमर्शको प्रमुख वक्ताको रुपमा प्रा.डा.व्रतराज आचार्य रहनु भएको छ भने ज्ञानु अधिकारी तथा प्रभा आचार्य भट्टराई पनि वक्ता रहने हुनुभएको छ।

भानुजयन्ती विशेष कार्यक्रमको दोस्रो दिन असार २७ मा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा सिर्जना वाचन कार्यक्रम हुने कार्यक्रम रहेको छ।देश र विदेशमा छरिएर रहेका नेपाली साहित्यकारहरुले मातृभाषा तथा नेपालीमा सिर्जना वाचन गर्ने कार्यक्रम रहेको डा. पौडेलको भनाइ छ।

इन्सको भाषा तथा साहित्य समिति यसै वर्ष गठन गरिएको हो।इन्सको भाषा तथा साहित्य समितिले गरेको यो पहिलो औपचारिक कार्यक्रमको रुपमा रहेको छ।नेपालको हरेक प्रदेश तथा काठमाडौँका विशेष सिर्जना वाचन हुने कार्यक्रममा विदेशबाट पनि दर्जनौँ साहित्यकारले विभिन्न विधाका लघुरचना वाचन गर्ने कार्यक्रम तय गरिएको डा.पौडेलको भनाइ रहेको छ।

-सञ्जय साह मित्र÷रौतहट

प्रतिक्रिया