बिहान बिहानै
मेरो घरको
झ्यालमा बसेर चरी
चिरविर चिरविर गर्दैछ
एकै छिनमा
भुर्र उडेर जान्छ
फेरि अर्को
साथी लिएर आउँछ
घरी भुर्र उड्छन्
घरी चिरविर गर्छन्
मै तर्फ इङ्गित गरेर
भन्छन् –
हेर हेर मान्छे
बल्ल पिंजरामा थुनियो
हामीलाई पिंजरामा थुनेर
रमाउने मान्छे
हामीलाई गुलेली हानेर
मार्ने मान्छे
हाम्रा गुँड भत्काउँदै
हामीलाई रुवाउने मान्छे
आफै रुँदो छ
आफ्नै पापको
सजाएँ भोग्दै
वन्दी हुँदो छ ।
जङ्गल काटेर मास्ने
हाम्रो वास उजाड पार्दै
आगो झोँसेर हाँस्ने
हामीले सास फेर्ने हावा
दुर्गन्धित बनायो
पिउने पानी र खानामा
विषादी खन्यायो
बल्ल मान्छेमा
चेत पसेछ
थुनिएर आफै
पिंजरामै बसेछ ।
जाऊँ साथी जाऊँ
जङ्गल हराभरा छ
स्वतन्त्र भै नाँचौं
रमणीय धरा छ
फलफूल लटरम्म
छन् वोटवोट्मा
भरपेट खाऔं
छर्दै मुस्कान ओठमा
सुन्दर राम्रा
गुँड बनाऔं
आऊ प्रियतमा
प्रणय उत्सव मनाऔं ।
आऊ प्रियतमा
प्रणय उत्सव मनाऔं ।।
—अस्तु—
-मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी
हालः बुटवल
प्रतिक्रिया