चारैतिरबाट गिज्याईँदा,
आफू लाभको पदबाट बिमुख हुँदा,
मलाई किन किन राष्ट्रियताबारे बोल्न मन लाग्छ!
शक्तिमा हुँदा जो जो थिए मुठ्ठीभर,
आज ठूलै शक्ति भएको भान हुन्छ,
त्यसैले मलाई आजकाल,
जनजिविकाबारे ठूलै लेख लेख्न मन लाग्छ!!
विकासको मूल फुटाएदेखि
एशियाली मापदण्डसम्म,
नि:शुल्क शिक्षा,स्वास्थ्यदेखि
कोही भोकै नमर्ने सम्म,
बिदेशमा नभौँतारिनेदेखि
स्वीट्जरल्याण्ड बनाउनेसम्म,
सबै एजेण्डा सकिएपछि,
आफूलाई दुबैतर्फबाट अफर नआएपछि,
अब फेरि अमूर्त राष्ट्रियता र,
बिदेशीको खेलबारे प्रशिक्षण दिन मन लाग्छ!!!
हिजो आफैँले गरेको भाषण,
सहिदप्रति खाएको कसम,
जनताप्रति देखाएको प्रतिबद्धता…
ईत्यादिको भिडियो क्लिप
कसैले डिलिट गरे गज्जब हुन्थ्यो जस्तो लाग्छ!!!!
-कोमल अधिकारी,टिकापुर,कैलाली।
प्रतिक्रिया