अनिष्टको कालो बादल

-मित्र ‘उराठी’ गौतम ,गुल्मी २०७८ वैशाख २९ गते ९:१९ मा प्रकाशित

आकासमा
कालो बादल मडारीएको छ
कतिबेला
दक्षिणबाट
वेगवान तुफान आइपुग्छ
कतिबेला
उत्तरबाट
भयानक आँधी आइपुग्छ
आँधीतुफान न हो
जुनसुकै बेला
जुन दिशाबाट पनि आइदिन्छ
त्यसैले
झल्याक् झुलुक
विजुली चम्किरहेको छ
भित्र भित्रै गर्जिरहेको छ।

यता भने मैदानमा
साँढेहरु जुधीरहेका छन्
सिंगौरी खेलिरहेका छन्
निमुखा बाच्छाबाच्छीहरु
अनिष्टको सङ्केतले
थरथरी काँपीरहेका छन्
यस्तो सङ्कटको बेला
आ-आफ्नो गोठमा
शान्तिसँग बस्न पाए हुने
उनीहरु सोच्दै छन्।

घोर्ले बाच्छाहरु भने
रमाइलो मान्दै
थपडी बजाउँदै
तिघ्रा ठटाउँदै
जुधीरहेका साँढेहरुलाई
हौसाउँदै
रमिता हेरीरहेका छन्
किनकि
सिक्नु छ आफूले पनि
जुध्ने कला र सीप
जो भविष्यमा
काम लाग्न सकोस्।

साँढेहरुले
वुझेका छैनन्
वा वुझेर पनि
वुझ पचाइरहेछन् ?
आकाश माथि मडारीएको
कालो बादलबाट
कति बेला
भयानक चट्याङ् पर्छ
र त्यो चट्याङ्ले
आफूहरुलाई ध्वस्त पार्छ
अनि वंशै विनास गर्छ।

—अस्तु—
मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मी
हालः बुटवल
[email protected]

 

प्रतिक्रिया