नौ महिना गर्भमा राखी ल्याएँ यो जगतमा
कोपिला हुँदै फुल्यौ फूल भरी रङ्ग रजतमा
च्याँ गरी रोएथ्यौ तिमीले यो संसारमा जसै
भुलेँ ती सारा वेदना तनमा थपियो ऊर्जा त्यसै॥१॥
च्याति फरिया सिलाएँ भोटो, दौरा बनाएँ थाङ्ना पनि
मेरा सन्तान बनिरहून् यस सृष्टिकै नौलो रचना भनी
तिम्रो आगमनले हाम्रो जीवनमा वसन्त ऋतु आएथ्यो
तिम्रो रुवाइले कोकिलको गीतझैँ मन्त्रमुग्ध पारेथ्यो॥२॥
मैले बेरेँ मायाममतामा तिमीलाई बाले कर्म सिकाउनुभो
रजनीमा पनि रजक बनी आफू तिम्रा इच्छा पूरा गर्नुभो
ग्रीष्मको त्यो उखरकाउलो गर्मीको छटपटाहटमा पनि
शीतल दिएथ्यौ तिमीले शरदको सिरसिर वतास बनी॥३॥
सधैँ मुटुभरिको माया दिई तिमीलाई पढायौँ सकेजति
प्रगति पथमा लम्कियौ तिमी सगरमाथाको उचाइ जति
खुसी भयौँ दु:ख भुली सकल जीवनको पूरा भो सपना भनी
आशीर्वाद दिइरहयौँ तिमी लोकले सम्झने काम गर भनी॥४॥
डोली चढी छोरी गइन् पराइघर उनी उतैकी लक्ष्मी बनिन्
खुसी छु पीर नगर्नु आमाबाले आउँछु पछि भनी फोन गरिन्
छोरा बुहारी सहर, परदेश गए कमाएर फर्की आउछौँ भनी
पिढीमा बसी बूढाबूढी दिन गन्थ्यौँ कहिले फर्किन्छौ भनी॥५॥
फर्की आएनौ तिमी कर्तव्य पूरा गरिरहयौ मात्र फोन गरी
बा रूनुभो बेसरी सन्तान देख्न पाए सिधै पुग्थेँ स्वर्ग भनी
कति भाग्यमानी तिम्रा बा हेर त मेरै काखमा परलोक हुनुभो
हिक्क !हिक्क !गर्दै अन्तिममा मेरा लागि चार वाक्य भन्नुभो ॥छ॥
तिनैलाई खुवाउनुपर्छ भनी दिन सकिनँ तिमीलाई पेटभरी खान
आए जीवनमा विपत् तर कहिल्यै तिमीले छोडिनौ साथ दिन
छोडी जाँदैछु प्रिया तिमीलाई सुर्ता नगर्नू आएनन् छोराछोरी भनी
राखिदिनु है मायासँग साटी पठाएका धनका बिटा एकएक गनी ॥७॥
बा बितेपछि अरु आए तिमीले पिलेनको टिकट पाएनौ रे
मुटुमा मेरा बा भन्दै भावुक भइ फेसबुकमा फोटो टाँस्यौ अरे
अब यै झुपडी परदेशसरी भो मेरो अस्थिपञ्जर शरीरलाई
मायासँग साटेका तिम्रा धन मिलेर खानू सन्दुकमै छ है॥८॥
बिन्ती बूढी आमाको माया छ भने तिमीहरू फर्की आओ
रुखासुखा जे सक्छौ तिमीहरू त्यही मलाई खुवाओ
सक्दैनौ तिमीहरू मसँग बस्न भने मुख हेर्ने दिन मात्र
आमा देवी हुन् भन्दै तिमीहरू फेसबुकमा फोटो नराख॥९॥
भोक प्यासमा पानी खाना दिने कोही नहुँदा
आँसु पुछिदिई हुँदैन भन्ने कोही छैन म रूँदा
नरूनू है भक्कानिँदै तिमी आमा मरिन् रे भनी
नजानू मातातीर्थ कुण्डमा देखिन्छिन् रे आमा भनी॥१०॥
जिउँदोमा बाआमा भेट्न नभ्याउने साहै व्यस्त तिमीहरु
नजाऊ खर्च गरी कुशेऔँशीमा गोकर्णमा गर्छु श्राद्ध भनी
नगर्नू इन्टरनेटबाट पनि श्राद्ध मातृपितृ ऋण तिर्छु भनी
नरूनू कहिल्यै तिमीहरू तिम्रा सन्तानले त्यस्तै गरे भनी॥११॥
शशी खड्का
बूढानीलकण्ठ,काठमाडौं ।
प्रतिक्रिया