कथा – जेष्ठ आठ गते

रामप्रसाद खनाल २०७८ वैशाख ४ गते १४:३३ मा प्रकाशित

 

आज धेरै दिनपछि यसो केही लेखौं भन्ने आयो।आलस्यको चाकडी गर्दा गर्दा लेख्ने बानी पनि छुटेछ।झट्ट कल्पनाको घोडा दौडाएर फुस्साको ताना बाना बुनौं कि केही वास्तविक घटनामा कल्पनाको मसला भरेर एउटा कथा लेखौं ? झट्ट वि.पीले भन्नु भएको सम्झेँ ।फुस्साको कुराको कथा हुँदैन । कथामा अचेतनमै भए पनि केही देखेको या भोगेको घटना आई हाल्दो रहेछ।

४७ सालको त्यो दिन घाम लागेको थियो।जेष्ठको महिना थियो।मौसम न्यानो थियो।काठमाण्डौंको रमणीयता अझै आजको जस्तो निस्तेज भई सकेको थिएन।

जेष्ठ महिनाको आठ गते मेरो छोराको पास्नीको दिन थियो।म भाउजू लिन कालिमाटी जानु पर्ने भयो।सहर एकदम अशान्त थियो।भरखर ४६ सालको राजनीतिक उथलपुथल पछिको माहौल अझै घुम्म थियो।जनता सम्पूर्ण क्रान्ति चाहन्थे।एकथरीको जमात मन्डले भनेर बदनाम थियो।जोसँग रिष उठ्थ्यो त्यसलाई मन्डले भनेर पिटिन्थ्यो।मन्डले भनेको राजाबादी प्रतिक्रियाबादी हुन भनेर गोदिन्थ्यो।ज्यानै जाने गरि नै गोदिन्थ्यो।

कालिमाटी भाउजू लिन म स्कुटरमा गएको थिएँ।आउदा सहर चकमन्न सुनसान थियो । कसैले कसैमाथि विश्वास गर्दैनथ्यो।कोही चिनेकै मान्छे पनि मन्डले रहेछ भनें ? भन्ने डर लाग्नेको म अपवाद् थिइनँ।

मैले वल्ल तल्ल एउटा टेम्पु भेटेर बडो अनुनय गरेर पासा ड्राईभरलाई फकाएर भाउजूलाई बानेश्वरको घर पुऱ्याउने व्यवस्था मिलाएँ।साथमा भुवन बस्नेत भाइ थिए ।उनको सहयोगले सकेँ।

म त्यसपछि घर फर्कन लाग्दा कालिमाटी चोकमा लागेको भिडले मन्डले हाब्रेका मान्छे भन्दै आठ जवान प्रहरीलाई जे ले पायो त्यसैले पिटदै गरेको देखेँ ।
भिड उत्तेजित भएर यी मन्डलेलाई मार्नु पर्छ,लु भन मोरा हो तिमीहरूलाई कस्ले पठाएको भन्दै गोददै गरेको दृश्य देखें।मलाई नराम्रो लागेको त थियो तर प्रतिकार गरेर ती प्रहरीहरूलाई छुटाएर लैजाने न ममा शक्ति थियो , न हस्तक्षेप गर्ने आँट नै थियो।

प्रहरीहरू हात जोडेर हामी प्रहरी होइनौं,माफ पाऊँ । आजै जागिर छाडछौं भनेर अनेक रोदन गर्दा पनि निरन्तर पिटाई खाँदै थिए।तिनलाई ठेलागाडीमा राखेर त्रिपुरेश्वरको सालिकसम्म पुऱ्याउदा ती साराको मुख सुन्निएर डरलाग्दो भएको थियो।

भीडको अनुहार हुँदैन।निराशाले जन्माएको उत्तेजनामा यी आठ जवान कसरी फसेँ म जान्दिनँ।ती जवानमा मैले चिनेको एउटा प्रहरी पनि रहेछन।कुटाई खादा खादा वेहोश भएकाहरू ती पानी पानी भनेर रोएको देखिन्थ्यो । तिनको सहयोग गर्ने प्रहरी प्रमुख आफै कुन दुलोमा लुकेको थियो।

ती मध्येको मैले चिनेको प्रहरी जवानलाई हामी गजने भन्थ्यौं, नाम गजबहादुर दुर्लाकोटी थियो।एकदिन एउटा प्रहरी मित्रले निम्त्याएर खान गएको वेला गजनेलाई मैलें त्यहीं भेटेको थिएँ।गजने एकदम छरितो, हँसिलो र फूर्तिलो थियो ।काठमाण्डौ रत्नपार्कको वंगालीको होटलमा मेरो साथीले भेटेको रहेछ।

नाम के हो केटा भनेर मित्रले सोध्दा मुसुक्क हाँसेर गजबहादुर भनेको रहेछ।टाठो ठीटो देखेर मित्रले म कहाँ काम गर्छस ? भनेर सोधेछन्।पढाई दिने भए गर्छु भनेर जवाफ दिएपछि भोलिपल्ट मोटरसाईकलको पछाडि राखेर मित्रले डेरा घर घट्टेकुलोमा लिएर आए।

रहदा बस्दा खानकी र माया पाएर एकदुई वर्षमै गजने लक्का जवान भयो।रात्री स्कूल पढन नक्सालसम्म जाँदो रै छ , घरको सारा काम सकेर राती पढन जाने गजनेलाई मेरो मित्रले प्रहरी जवानमा भर्ना गराएर उसको मन जितेका थिए।पछि घरको काम छाडेर ऊ तालिम केन्द्रमा बस्न थाल्यो । तर मित्रको त्यो गुन उसले बिर्सन सकेन।दुर्लाकोट गए पिच्छै , दूधको कुरौनी लिएर आउथ्यो।

मेरो मित्र मेरो छिमेकी भएको हिसावले ऊ मलाई पनि साहेप नै भनेर बोलाउथ्यो।पछि मैले थाहा पाएँ घरमा उसकी आमा रैछिन । आमाको एकमात्र सहारा गजने रहेछ।

पोहर आमालाई भेटन जाँदा आमाले ठम्याउनै गाह्रो भएको कुरा ऊ हामीलाई दंग परेर सुनाउथ्यो।समय त थामिंदैन, रहदा बस्दा ४६ सालको राजनैतिक परिवर्तनको घटना घट्यो।

मेरा मित्र सरूवा भएर कुनै जिल्ला तिर गए।गजने भिडसंग भिंडनु पर्ने प्रहरी जमातमा काम गर्नु पर्ने भयो । एकमनले लाग्यो घरै गएर जे जस्तो हुन्छ काम गरेर गाई,बाख्रा चराएर आमासँगै बस्नु पऱ्यो क्यार् । तर घरको आर्थिक अवस्था र वाल्यकालमा खेप्नु परेको अभावको कुरा सम्झेर वाध्यताबस त्यो भिड नियन्त्रण गर्ने काम पनि छाडन सकेको थिएन।

यता ठेलामा ऊजस्ता ७ जवान अरू पनि थिए। ती साना दर्जाका प्रहरीहरूको गजनेको जस्तै आफ्नै कथा हुँदो हो।हजारौं हजारको भिडमा कसैले लात्तले , कसैले मुडकीले जसले जे पायो त्यसैले प्रहार गर्दै थिए।

म रनभूल्यमा परेँ ।कोही ठेला ठेल्ने कोही कुटन्, पिटन् लाग्ने । अनुहार सुन्निएर कसैको पनि अनुहार चिन्ह सकिने अवस्था थिएन।काठमाण्डौं रमितेहरू शहरहो भनेर सुनेको थिएँ । त्रिपुरेश्वरको ओखती पसल अगाडि स्कूटर अड्याएर म पनि रमितेको नजिकै गएर रमिता हेर्न थालें । मृत्युको भयावह ताण्डव देखिदै थियो। म भिड छिचोलेर अलि नजिक गएर हेर्न थालेँ । ति विचरा मृत्युको मुखमा फसेका निरिह प्राणीहरू पानी पानी भनेर गुहार गर्दै थिए तर त्यो उत्ताउलो भिडमा गएर बोल्ने बचाउने जोखिम लिन कोही तयार भएन।यत्तिकैमा मैले झिनो स्वरमा साहेप भनेर बोलाएको सुनेँ।आठ जना मध्येको एक गजने रहेछ।

सवै ती प्रहरीहरू रोदन गर्ने क्षमता पनि हराएर वेहोश थिए।प्राण पनि प्राय:को उडि सकेको थियो।म नजिकै गएँ।त्यो बोलाउने त गजने रहेछ । मलाई देखेर अलिकति म विह्वल भयो । म पनि शक्तिहीन नपुंसक गैंडाझैं औचित्यहीन भई सकेको रहेछु।

त्यो भिडमा गएर तर्क गरेर गजनेलाई मैले छोडाउन सकिनँ । त्रिपुरेश्वरको उकालोमा उसका प्राण पखेरू उडे।मैले आफू असाहय भएकोमा लज्जित महशुस गरेँ ।
भयावह दृश्यलाई त्यसै छाडेर म बानेश्वर पुग्दा पास्नी मेरो कारणले रोकिएको रहेछ।साँझको छ बज्यो।टेलिभिजनवाट विश्वभरि त्यो दृश्य प्रसारण हुँदै थियो ।
अन्न प्रासन्न ढीलो भएर सवै कर्फू लाग्नु अगावै हिंडन तयार थिएँ।

मैले छोरालाई चाँदीको चम्चाले भात खुवाउँदा ,उसको अनुहारमा गजनेलाई देखेँ । सबै दंग थिए म मात्र खिन्न थिएँ।

पाहुनाहरू गई सकेपछि श्रीमतीले सोधिन्- के भो बाबु ? सन्चो भएन ?
मसँग जवाफ थिएन।

गजने,उसकी आमा,उसको वाध्यता र विवसता सम्झेर त्यो साँझ म एक्लै रोएँ।

-सुशील नेपाल
बोस्टन,अमेरिका

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया