म्यानमार आगो ओकल्दैछ

राधेश्याम लेकाली २०७८ वैशाख २ गते ६:३७ मा प्रकाशित

आज म्यानमारमा
निरंकुशताले नग्न नृत्य गरेको छ
आज म्यानमारमा
सेनाको क्रुरताले परकाष्टा नाघेको छ
हो आज
आज म्यानमारी सेनाले
दमनको फणा उठाएको छ ।

हो,
प्रजातन्त्रका लागि सेनाको हैकमका विरुद्ध
न्यायप्रेमी जनता
ज्वालामुखी भएर उठेका छन
म्यानमारी क्रुर सेनाको दमनका विरुद्ध
शान्तिकामी जनता
मुस्लो भएर उठेका छन
हो यतिबेला
म्यानमार आगो ओकल्दैछ
म्यानमार न्याय खोज्दैछ ।

म्यानमारी सेनाको अत्याचारले
मानवीय मूल्य र मान्यताको
घोर अपमान गरेको छ
म्यानमारी सेनाको ज्यादतीले
मानवता कहालीलाग्दो बनाएको छ
अपराधी शैलीमा नागरिक अपहरण गरेर
हत्या गरिएको छ।

अबोध बालकहरु
स्कुल जान सकिरहेका छैनन्
नत उनीहरुले
मनग्यै खेल्न पाएका छन
घरमा आमाहरु
शान्तिसित बस्न पाएका छैनन्
नत उनीहरु
ढुक्कले निदाउन सकेका छन
बुबाहरु
निर्वाध काममा जान पाएका छैनन्
नत उनीहरु
शान्तिसित रमाउन सकेका छन।

यतिबेला सेनाको प्रकोपले
म्यानमारमा बुद्ध हारेको छ
यतिबेला सेनाको दमनले
विश्व लज्जित बनेको छ।

हो यतिबेला
मुस्कुराइरेका अबोध बालकहरुलाई
गोली हानिएको छ
आमा र दिदीबहिनीलाई
अपमान गर्दै लाजमर्दो व्यवहार गरिएको छ
जनताको टाउको छानी छानी
गोली दागिएको छ।

यतिबेला
गैह्रकानुनी तवरमा स्वतन्त्रताको आवाज
गैह्रकानुनी तवरमा प्रजातन्त्रको आवाज
गैह्रकानुनी तवरमा मानवताको आवाज
सबै सबै निस्तेज गरिएको छ
आज म्यानमार रोएको छ
आज म्यानमार आक्रोसित छ
आज म्यानमार आगो ओकल्दैछ।

सत्ता स्वार्थको खेलले
निम्त्याएको यो अवस्थाका विरुद्ध
अब
सबै न्यायप्रेमी जनता
एक हुनै पर्छ
सबै मानवताप्रेमी जनता
गोलबन्द हुनै पर्छ।

-राधेश्याम लेकाली

प्रतिक्रिया