नयाँ वर्षको स्वागत गरौं

-मित्र ‘उराठी’ गौतम २०७७ चैत २८ गते १७:२१ मा प्रकाशित

नयाँ वर्षको स्वागत गरौं
जननी प्रशव पीडामा छन्
एउटा शिशुले जन्म लिंदै छ
आऊ साथी
स्वागतको लागि तयारी गरौं ।
नयाँ वर्षको स्वागत गरौं ।।

कैयौं कंशहरु यहाँ
शिशु पछार्ने दाउ हेरिरहेछन्
कति नरभक्षीहरु
गर्भपतनको तयारी गर्दैछन्
कैयौं पुतनाहरु
जातिय,धार्मिक र साम्प्रदायिकता युक्त
विषालु स्तनपान गराउन
आतुर देखिन्छन्।

त्यसैले
आसुरी प्रवृत्तिलाई
चेतनाको ज्वालाले जलाउँदै
आपसी सहयोग,सद्भाव र मानवताका
फूल उनेर
नयाँ शिशुको स्वागत गरौं।
नयाँ वर्षको स्वागत गरौं ।।

यदि
फेरि पनि
पुरानै संस्कार र प्रवृत्ति
रहिरहन्छ भने
विकृति र विसङ्गतीहरुको
हैकम चल्छ भने
शान्ति,सद्भाव र मानवता
घुम्टो भित्र लुकिरहन्छ भने
बरु
गर्भपतन सहन्छिन् जननी
तर
राक्षसी राज्यमा
सन्तती जन्माउने छैनन्।

तसर्थ
आऊ सबै जुटेर
नौलो बिहानीको स्वागत गरौं
सुन्दर संसारको कामना गरौं
सत्कर्म र सुमार्ग अँगाल्दै
सत्यम् ,शिवम् ,सुन्दरमको प्रण गरौं
नयाँ शिशुको स्वागत गरौं।
साँच्चै नयाँ वर्षको स्वागत गरौं ।।
अस्तु
मित्र ‘उराठी’ गौतम

[email protected]
अमरपुर,गुल्मी
हालःबुटवल

प्रतिक्रिया