साहिली

-विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,अमेरिका । २०७७ चैत २४ गते २२:२६ मा प्रकाशित

चालीस पछि रमाउला भन्दै साहिला विदेश गयो हजुर
दुई वर्षमै सहिलाको त विचल्ली नै भयो हजुर
ज्यानै दिन खोज्थी उसले पहिले साहिला भनी भनी
कालो हुँदो रहेछ हजुर यो पैसो हो कि मनि पनि ।

साहिंला गको दुई महिनामै साहिँली बजार झरी हजुर
शहरतिरका माइकल दाइका माया जालमा परी हजुर
दमन्ती थिई साहिँली उता,डली नाम भयो यता
मोजमस्ती दिनहुँ पार्टी दुइ चार लाख गयो यता ।।

चाइनिज मोबाइल कस्तो झुर आइफोंन त बोक्नै पर्यो
यसो मोडेल देखिनलाई अंग्रेजी नि घोक्नै पर्यो
उता साहिंला खाडीतिर पसिनाले तररर
यता साहिँली माइकलका बाइकका पछि सररर । ।

भन्छे पैसो पठाऊ बूढा कस्तो महँगो बजार पनि
एउटा साडी किन्नलाई नि छैन चालीस हजार पनि
मिठो बोली लठ्याउने घायल पार्ने हाँसो हजुर
त्यै हाँसोका मात्रै भरमा सोझो साहिँलो फसो हजुर । ।

सहिंलाको कमाइ जति साहिँलीले स्वाहा स्वाहा
मोडेल भका फोटा राख्दा फेस बुकमा वाह वाह !!
लाख पर्ने मोबाइल हजुर लाखै पर्ने बाइक पनि
बाइक चला फोटाका त कति कति लाइक पनि ।।

साहिंला उता तातो घाममा आँसु झार्दै बरर
यता साहिँली घुम्छे हजुर बाइक लेर सरर
चालीस पछि रमाउला भन्ने रहर त्यसै गढ़यो हजुर
साहिंलाको रहर जति खाडी तिरै सढ़यो हजुर
साहिंलाको रहर जति खाडी तिरै सढ़यो हजुर ।।

 

 

प्रतिक्रिया