पिर,व्यथा र कथाहरूले,
जाँतोले पिसे जस्तै पिस्दै गर्दा
रोदनको रुन्चे हाँसो
किचिक्क दाँत देखाउँदै हाँस्ने मलाई
मेरा बा,आमालाई,
दाइ भाइलाई,
दिदी बहिनी र आफन्तलाई
वरकालाई
परकालाई
तलकालाई
माथिकालाई
सबै सबैलाई
उनीहरूले खुसी देखेछन्
दक्षिण एसियाकै खुसी !
संसारकै सतासियौँ नम्बरको खुसी !
न देखुन पनि कसरी !
रुँदा रुँदै आँसु सकिए पछि,
रुवाइ पनि हाँसो र खुसी जस्तै देखिनेरैछ
त्यही देखिने रुन्चे हाँसो र रुवाइलाई
खुसी भनेर प्रतिवेदनमा लेखिनेरैछ
दुःख, पिर, मर्का
र मनका व्यथा,
रिपोर्ट लेख्ने उनीहरूलाई के थाहा ??
हो, खुसी मात्रै होइन जे जे मन लाग्छ लेख
मलाई खुसी नै खुसी देख
सबै सबैलाई खुसी देख
दक्षिण एसियाको पहिलो नम्बरमै देख
संसार भरकै सतासियौँ खुसी भनेर देख
सक्छौ भने अर्को वर्ष,
एक नम्बरमै लेख
किनकि म खुसी मान्छे हुँ
हामी सबै खुशी मान्छे हौं
सबै खुसी नै खुसी मान्छेहरूका मान्छे हौं
दक्षिण एसियाकै खुसी मान्छे !
संसारकै सतासियौँ नम्बरका खुसी मान्छे !
हो म खुसी मान्छे
हामी सबै खुसी मान्छे
खाडीको गर्मीमा भतभती पाक्दा पनि
लुटेराहरूले लुटेर देश सक्दा पनि
जोकतन्त्रलाई लोकतन्त्र बक्दा पनि
ताली पिट्दै, लुटेराहरूकै पछि पछि लाग्ने
म र मेरा सबै आफन्तजनहरू
खुसी नै खुसी छौँ !
लेख, अर्को प्रतिवेदन पनि लेख
देख, खुसी नै खुसी देख !
खुसी पनि अचम्मैको हुँदो रहेछ आजकल
रगतको आहालमा डुबेको खुसी
सिन्दूर पुछिएको खुसी
कोख रित्तिएको खुसी
बिस्तारामा पर्दा लौन भन्नु छैन सहारा
औषधी र पानी नपाउँदाको खुसी
अस्पताल लैजान गुहार नपाउने खुसी
कमाउन छोरो खाडी पलायन हुँदाको खुसी
सहर झरेकी बुहारी र छोरी,
अर्कैले उडाउँदाको खुसी !
सन्तानहरूको बिचल्ली हुँदाको खुसी
करले पिसेको खुसी
डरले काँपेको पनि खुसी
हरे, खुसी पनि अनेक थरी थरिका
देख्दा रहेछन् प्रतिवेदन लेख्नेहरू
कता होलान् ती खुसी नै खुसी देख्नेहरू
मलाई पनि भेट्न मन लागेको छ तिनीहरू
देखाउन मन छ मेरो खुसी र हाँसो
हेर्न सक्छौ तिमीहरू ??
हा हा म खुसी मान्छे !
एसियाकै खुसी मान्छे !
हामी सबै खुशी मान्छे !!
– रामप्रसाद खनाल,मार्च २२, २०२१
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया