हार्नेको ताली

यज्ञप्रसाद पाण्डे २०७७ फागुन १५ गते १९:०४ मा प्रकाशित

 

कुनै एउटा विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता हुन लागेको छ।प्रतियोगितामा भाग लिन ४ जना विद्यार्थी छुट्टाछुट्टै बसेका छन्।अर्कोतर्फ प्रतियोगिता हेर्न दर्शकहरू बसेका छन्।

शिक्षकले हाजिरी जवाफ प्रतियोगिताका बारेमा बोल्दै भन्छन्:यो प्रतियोगितामा जम्मा एउटा मात्र प्रश्न सामेल हुनेछ र प्रतियोगीले त्यसको जवाफ प्रमाणसहित दिनुपर्ने छ।जो जसले प्रश्नको जवाफ मिलाउंँदैन उसलाई तत्कालै हरुवाको उपाधि दिइनेछ।जित्नेले राम्रै पुरस्कार पाउनेछ।अब प्रतियोगिता सुरु हुन्छ।

यो संसारमा सबभन्दा छिटो रफ्तारमा काम गर्ने राष्ट्रपतिको नाम के हो र उनी कुन देशका हुन् ?
विद्यार्थी १ : जो बाइडेन,अमेरिकी राष्ट्रपति
शिक्षक : कसरी ?
विद्यार्थी १ : उनी र उनका पूर्ववर्ती राष्ट्रपतिहरूको रफ्तारीपूर्ण कामका कारण त अमेरिका अहिले विश्वको सबभन्दा समृद्ध र शक्तिशाली देश भयो नि सर।
शिक्षक : गलत उत्तर,तिमीले प्रतियोगिताको नियम अनुसार हरुवा उपाधि पायौअब यो प्रश्न विद्यार्थी २ लाई जान्छ।
विद्यार्थी २ : सी जिन पिङ,चिनियाँ राष्ट्रपति
शिक्षक :कसरी ?
विद्यार्थी २ :सीको रफ्तारीपूर्ण कामका कारण त अमेरिका जस्तो विश्वको सबभन्दा समृद्ध र शक्तिशाली देशको हाराहारीमा चीन पुग्न लाग्यो नि सर।
शिक्षक :गलत उत्तर,तिमीले पनि प्रतियोगिताको नियम अनुसार हरुवा उपाधि पायौं।अब यो प्रश्न विद्यार्थी ३ लाई जान्छ।
विद्यार्थी ३:म्यानमारका सैन्य प्रमुख मिन आङ
शिक्षक : कसरी ?
विद्यार्थी ३ :उनको एकै दिनको ‘कु’का कारणले त एक दशकपछि बल्ल भएको चुनावमा ८३ प्रतिशत मत ल्याएर जितेकी आङ सान सुचीको सरकारलार्ई अपदस्त गरी आफ्नो सत्ता कायम गरे।
शिक्षक : (एक छिन रोकिएर) यो उत्तर मिल्न त मिल्दैन तर ज्यादै तर्क संगत देखिएकाले तिमीले हरुवा पदवी पाउँदैनौ,बरु सान्त्वना पुरष्कार पाउने छौं।
अब यो प्रश्न यो समूहको अन्तिम प्रतियोगीलाई जान्छ र यदि अन्तिम प्रतियोगीले पनि उत्तर नमिलाएमा यो प्रतियोगिता अर्को समूहमा जानेछ।
शिक्षक : प्रश्न एक पटक फेरि,यो संसारमा सबभन्दा रफ्तारमा काम गर्ने राष्ट्रपतिको नाम के हो र उनी कुन देशका हुन्?
विद्यार्थी ४:(दृढ स्वरमा) हामै्र महामहिम राष्ट्रपति विद्या भण्डारी
शिक्षक :(विद्यार्थी ४ को आँखामा आफ्नो आँखा जुदाउँदै) प्रमाण ?
विद्यार्थी ४ :प्रमाण छ,गत पुस ५ मा प्रम ओलीको सिफारिसमा तातो आलु खेल खेलेभन्दा पनि छिटो गतिमा प्रतिनिधिसभा भंग गर्ने अग्रगामी कदम सर।
शिक्षक :(जोडले) बिलकुल सही उत्तर, बधाई छ ।(दर्शकहरूबाट ताली आयो, प्रतियोगिता हार्नेहरूको पनि चित्त बुझेछ तिनले पनि ताली पड्काए ।)

धन्यबाद,

-यज्ञप्रसाद पाण्डे

 

प्रतिक्रिया