जन्म दिने आमा मर्दा
काज क्रिया गर्दैनन् उनीहरू !
सन्तानका लागि सर्वस्व त्याग्ने
बाउ मर्दा सम्झँदैनन् उनीहरू !
जिउँदा हुँदा हेला र झेला गर्छन् उनीहरू
दसैँ तिहारको टिका लाउन लाज मान्छन् उनीहरू
भजन कीर्तन, लोकगीत गाउन सरम मान्छन् उनीहरू
जान छोडे मन्दिर,गर्न छोडे पूजा आजा
चर्चको प्रार्थना मन पराउँछन् उनीहरू !
आयातित भ्यालेन्टाइन डे को देखासिकी गर्दै
गुलाफ बाँड्न अग्रसर छन् उनीहरू
घुँडा टेकाउँदै र टेक्दै रमाउँछन् उनीहरू
अनुशासन,मर्यादा,आफ्नो पनका कुरा गरे,
टाउको समाउँछन् उनीहरू !
हरायो लाज सरम भन्ने कुरा
देखाउन चाहन्छन् सबै सबै उनीहरू !
कली आएकै जस्तो लाग्न थाल्यो
देख्दा हेर्दा उनीहरू !
यस्तो देख्दा मन नपर्ने,
अब के गर्ने होला “म” हरू ??
– रामप्रसाद खनाल, फेब्रुअरी १४, २०२१
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया