अनि पो भनिन्थ्यो जिन्दावाद!

-कोमल अधिकारी,टिकापुर,कैलाली २०७७ माघ १८ गते १२:४६ मा प्रकाशित

हो,म पनि हिजो जिन्दावाद नै भन्थेँ
सिद्धान्तका,नियमका कुरा गर्थेँ
सदस्यता पाउनलाई सबै कुरा हेरिन्थ्यो
लम्बाइ,चौडाइ सबैतिर बाट नापिन्थ्यो
रातभरि खुर्सानी खुवाई बिउँझाएर
नालापानीमा पुर्खाले बचाए जसरी
देशलाई बचाउन प्रशिक्षण दिईन्थ्यो
र,पो भनिन्थ्यो जिन्दावाद !
अर्काको केही लिन धेरै बिन्ती गरिन्थ्यो
प्रशिक्षण थियो:जनताबाट केही नलेऊ
जनतासँगै गएर बस
जनताकै रायलाई सर्वोपरी मान
र, त भनिन्थ्यो जिन्दावाद !

‘बिचार’ लाई ‘हैसियत’सँग तुलना गरिन्थ्यो
करोडपति होस् वा रोडपति
जसको अब्बल बिचार ऊ नै हिरो
ऊ नै नेता र ऊ नै सर्बोत्कृष्ट
कसैले कुनै पद पाउन आँट्यो भने
उसले अर्कोलाई अफर गर्छ:
म भन्दा वहाँ उत्कृष्ट/अब्बल
मेरो भन्दा वहाँको यस क्षेत्रको अध्ययन राम्रो
हो,त्यतिबेला भनिन्थ्यो जिन्दावाद !

कसैको घरमा केही पर्दा सबै जम्मा भईन्थ्यो
चाहे खुशी वा दु:ख जे परोस्
गाउँभरिकालाई मुद्दा लाग्दा पनि
सबैको बीचमा एकता रहेकोमा खुशी होईन्थ्यो
र,पो भनिन्थ्यो जिन्दावाद !

खुशी हुन एउटा राम्रो चुट्किला सुनाई दिए हुन्थ्यो
सानो सफलता भए पनि हुन्थ्यो
ठूल-ठूला भीड केही चाहिँदैनथ्यो
ठूल-ठूला घर गाडी केही चाहिँदैनथ्यो
धेरै बैङ्क ब्यालेन्स केही पर्दैनथ्यो
गरिब हुनु भनेको अघिल्लो जन्मको पाप होईन
प्रभेदकारी कानून र वर्गीय भेदले हो भन्ने मानिन्थ्यो
र,त भनिन्थ्यो जिन्दावाद!

त्यो बेला रङलाई अर्को नाम दिईँदैनथ्यो
कालोलाई कालो नै भनिन्थ्यो सेतो होईन
पद पाएपनि नपाएपनि
पैसा पाएपनि नपाएपनि
जागीर पाएपनि नपाएपनि
कालो ‘कालो’ नै हुन्थ्यो
र, त भनिन्थ्यो जिन्दावाद !
अनि पो भनिन्थ्यो जिन्दावाद !!

–कोमल अधिकारी,टिकापुर,कैलाली

प्रतिक्रिया