आउ फिर्ता लैजाउ
तिमीले दिएका उपहारहरु
लैजाउ सबै यादहरु
त्यो शिखर चुम्ने
अनन्त गन्तव्यको यात्रा
अब मलाइ चाहिदैन
सायद कहिल्यै चाहिदैन
ति गोरेटोहरु
ति सितल छाहारीहरु
त्यो चौतारी
त्यो जंघार
सबै लैजाउ र
मलाई रित्तो बनाइ देउ
पहिलेको जस्तै
निस्फिक्री रित्तो
त्यो एक भारी सुझाब
सपनाका महलहरु
भरोसा ढाडस विश्वासहरु
ति कोमल हातहरु
अटुट साथहरु
यी पनि लैजाउ र
मलाई रित्तो बनाइ देउ
पहिले जस्तै पुरै रित्तो
र छाडी देउ एकान्तमा
घरि घरि ऐठन बनिरहने
ति तिम्रा दिव्य वचन लैजाउ
मलाई झस्काई दिने
सपनी लैजाउहरु
मलाइ रुवाउने बिपनीहरु
आउ सब कुछ लैजाउ
रित्तो बनाइ देउ उस्तै दुरुस्तै
पहिले जस्तै रित्तो
र छाडी देउ सडक किनारमा
हरेक पाहिलामा ठेस लागि हिड्न सकिन
लक्ष्य के हो ? चिन्न सकिन
आफु को हु ? बुझ्न सकिन
कहाँ पुग्नु थियो ? भेउ पाइन
अझै अल्झीरहेछु
जीवन मरणको दोसाधमा छटपटी रहेछु
सायद निकास मिल्थ्यो कि
नया जीवन पाउथे कि
पारीदेउ रित्तो
पुराई देउ उही बिगतमा
छाडी देउ एकान्तमा
आउ फिर्ता लैजाउ
सम्झनाका आधिहुरी
जो तिमीले मेरो अंगालोमा
बाधिएर ,लुटुपुटिएर
गोधुलीमा आकाश हेर्दै
सटेकी थियौ
आउ फिर्ता लैजाउ
सबै यादहरु
सबै सपनाहरु
-अर्जुन थापा
प्रतिक्रिया