एएनएद्वारा डा. दुर्गा दाहालको स्मृति कार्यक्रमको आयोजना 

इनेप्लिज २०७७ माघ ६ गते १४:०२ मा प्रकाशित


एशोशिएशन अफ नेपलिज इन द अमेरिकाज (ए.एन.ए.) द्वारा जनवरी १७ आइतवार ए.एन.ए. का नव-निर्वाचित पश्चिम क्षेत्रीय उपाध्यक्ष डा. दुर्गा दाहालको स्मृतिमा हार्दिक श्रद्दान्जली तथा समवेदना भर्चुवल कार्यक्रमको आयोजना गर्यो।

गत डिसेम्बरमा सम्पन्न ए.एन.ए. निर्वाचनमा बिजयी टीमले यही जनवरी ३ आइतवार मात्र आगामी २०२१-२०२३ कार्यकालको निमित्त पदभार ग्रहण गरेको थियो। डा. दाहाल यसै टीममा निर्वाचित हुनु भएको थियो । पदभार ग्रहण गरेको १ हप्ता पनि नबित्तै संस्थाको बहालवाला उपाध्यक्षलाई गुमाउनु परेको हो।

उहाँ जनवरी ७ मा अचानक सनफ्रान्सिस्को, क्यालिफोर्निया स्थित घरमै रहेको बेला एक्कासी छातीमा पीडा भएर अस्पताल भर्ना हुनुभएको थियो भने त्यसको भोलिपल्टै जनवरी ८ को मध्यान्हमा उहाँको स्वर्गारोहण भएको थियो।

ए. एन. ए. नेपालीहरुको उत्तरी अमेरिकामा स्थापित सवैभन्दा पुरानो राष्ट्रिय संस्था हो।अमेरिकामा निकै थोरै नेपालीहरु रहदा स्थापित यस संस्थाले आफ्ना सम्पूर्ण सदस्यहरुलाई परिवारको रुपमा मान्दछ र हरेक दु:ख-सुखमा सवै सहभागी हुने परम्परा कायम गर्दै आएको छ।

ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महासचिव डा.चुडामणि खनालले गर्नुभएको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले ए.एन.ए. को प्रकाशन “ए.एन.ए. संदेश” को आगामी अङ्क डा.दाहाल विशेषांकको रुपमा प्रकाशन गरिने साथै उहाँको प्रकाशनको तयारीमा रहेको अंग्रेजी कविताको संग्रह परिवारसंग छलफल गरेर ए.एन.ए. मार्फत प्रकाशनको प्रयत्न गर्ने जानकारी गराउनुभयो।

श्री स्वस्ति-बाचन गरेर शुरु गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण ए.एन.ए. परिवारका सदस्यहरुले डा दुर्गा दाहाल प्रति श्रद्दान्जली अर्पण गर्दै उहाँको सामाजिक,राजनैतिक र साहित्यिक व्यक्तित्वका बारेमा आ-आफ्नो सम्झना शेयर गर्नुभयो।कार्यक्रमको अन्तमा महासचिव डा. खनालले डा. दाहालको स्मृतिमा गीत प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया