८८४८ पिक्चर्स मार्फत सकिँदैन देश भुल्न सार्वजनिक

इनेप्लिज २०७७ कार्तिक ८ गते १७:२१ मा प्रकाशित

लगभग तीन दशक पहिले सांगीतिक क्षेत्रमा प्रबेश गरेका बसन्त लम्साललाई अझै पनि संगीतको धङधङीले छोडेको छैन२०४९ सालतिर रमेश “क्षितिज” को रचना र नारायण रायमाझीको संगीतमा पहिलो पटक ”छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” बोलको आधुनिक गीत रेडीयो नेपालमा रेकर्ड गराएर गायन क्षेत्रमा छिरेका बसन्त लम्सालले अझैंपनि संगीतलाई मायाँ मार्न सकेका छैनन् ,कहिले गायकको रुपमा, कहिले गीतकारको रुपमा त कहिले संगीतकारको रुपमा निरन्तर उनले आफूलाई उभ्याउन खोजिरहे।

यसै दौरानमा सार्वजनिक ”दोबाटोमा” एल्बममा समेटिएका गीतहरुमध्ये “छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो” र ”सानो होला मेरो घर, मेरा लागि संसार हो” बोलको राष्ट्रिय गीतलाई श्रोताहरुले निकै मन पराए।

२०६३ सालतिर अध्ययनको क्रममा बिदेसिएका उनले अन्तत: देश छोडे, तर संगीत छोड्न सकेनन,यस बिचमा बिदेशी भूमिबाटै पनि आफ्नो उपस्थितीलाई कुनै न कुनै रुपमा उनले निरन्तरता दिइरहे।

पछिल्लो समयमा उनकै शब्द र संगीतमा अन्जु पन्तको आवाजमा रेकर्ड भएको ”धरतिमा आएँ एकलै,” कर्म ग्याल्छेनको स्वरमा रेकर्ड गरिएको “भन्छौ रे देश छोडेर जाने” र उनी स्वयमले गाएको ”सम्भावना भए गाउँमै गरी केही खाने” गीत निकै मार्मिक र स्तरीय छन् र परिस्थितिबश, पेशा र भौतिक शरीर बिदेशमा रहेपनि उनको मन-मस्तिस्क हरदम स्वदेशमै रहेको छनक उनका गीत-संगीतमा प्रस्टै पाउन सकिन्छ।

स्वदेशमै रहँदा पनि आफ्नो गाउँ-घर-परिबेशको सम्झना प्रबल हुने चाडबाडको यो समयमा उनले यस गीत मार्फत स्वदेशको मायाँ छताछुल्ल पोखेका छन् भने शब्द, संगीत, स्वर सबै सशक्त रहेको यो गीतलाई ८८४८ पिक्चर्सको आधिकारिक युट्युब मार्फत सार्वजनिक गरिएको छ।

८८४८ का शंकर राज वाग्ले (एस.राज) र संजय कार्कीको छायांकन रहेको यस भिडियोमा तामाङ सोसाइटी अफ लसएन्जल्स तथा लसएन्जल्स गुरुङ सोसाइटी का सदस्यहरुको साथ सहयोग रहेको छ ।

क्यालिफोर्निया लसएन्जल्सबासी बरिष्ठ सामाजिक अभियन्ता वेद भक्त जोशी, सामाजिक अभियन्ता टेक वाईबा लामाको मुख्य भूमिका रहेको छ।

बालकलाकारहरुमा निर्भान कार्की, सुप्रीम थपलिया र केट्रिसा थपलिया लगायत अन्य कलाकाहरुमा ज्ञानेन्द्र गुरुङ, मिना गुरुङ, आस्था गुरुङ, सबिना लामा, रविना लामा, भिमसेन तामाङ, कर्क वाल्कर, श्याम सेढाई, संजय कार्की, निरता कार्की, अमृत महतो र रिमेश खनाल रहेका छन् भने संयोजन संचारकर्मी डोल्मा लामा र श्याम सेढाईको रहेको छ।

२०७७ सालको दसैं-तिहारको पावन अवसरमा सार्वजनिक देशभक्तिपूर्ण यो गीतले सगरमाथाकै उँचाइ पाओस् , सर्जक बसन्त लम्साल र सम्पूर्ण टिमलाई हाम्रो यही शुभकामना!

प्रतिक्रिया