शिव बिष्ट, नर्थ क्यारोलिना , अमेरिका
२३ मे ,शनिबार ,२०२०
यता हेर्यो चिहान देख्छु ,उता हेर्यो चिहान देख्छु
के भाको यो बस्ती भित्र ,जिउँदो एक्लो भगवान देख्छु…………………….
यिनै राष्ट्रप्रेम र मानवीय संवेदनाले भरिएको गीति गजल ‘ कालापानी ‘ सार्वजनिक भएको छ। पत्रकार, कवि तथा गजलकार सुविद गुरागाईंद्वारा रचित उक्त सांगीतिक गजल बरिष्ठ गायक बसन्त खड्काको सुमधुर स्वरमा सजिएको छ। हालैमात्र युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गजलमा संगीत पनि गायक खड्काले नै भरेका छन् ।
बिगत केहि समय यता देखि लिम्पियाधुरा, लिपुलेक,कालापानी लगायतका नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बढेपछि त्यसको बिरोध स्वरूप सो गजल सम्पूर्ण श्रोता/दर्शक माँझ प्रस्तुत गरिएको कुरा गजलकार गुरागाईंले बताएका छन्। आशा र निराशाका मर्मस्पर्शी शब्दहरुले सिंगारिएको सो गजल भित्र उज्यालो दिन ल्याउनका लागि सम्पूर्ण नेपालीहरुले संघर्ष गर्नु पर्ने सांगीतिक सन्देश समेत समाविष्ट गरिएको छ।
नेपाली भूभागमा भारतीय पक्षले सडक बनाएर उद्घाटन समेत गरेपछि बिरोध स्वरूप अनेकन दबाब बढिरहेको वर्तमान परिपेक्षमा सो गजलले आमनेपालीहरुलाई आफ्नो मातृभूमिको अस्तित्व रक्षाका लागि अझ बढी जागरुक गराउने आशा ब्यक्त गरिएको छ गुरागाईंद्वारा रचित सो गजललाई किरण क्रियसनले प्रस्तुत गरेको छ भने अल ओभर द वर्ल्ड सार्वजनिक गरेको हो । दिप तुलाधरको संगीत समिश्रण रहेको सो गजलको सम्पादन लोकेश भाटले गरेका छन्। बहुचर्चित गजल ‘ नलाएको माया ‘ का रचनाकार गुरागाई र लोकप्रिय गजल ‘ मृगतृष्णा ‘ का गायक खड्काको यो ‘ कालापानी ‘ गीति गजल लोकप्रिय हुने कुरामा सर्जकहरु आशावादी रहेका छन्।
प्रतिक्रिया