काठमाडौँ, २६ असार । धुर्मुस–सुन्तली फाउन्डेशन चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काममा फर्किन तयार भएको छ ।
गत जेठ १५ गते रंगलाशाको बाहिरपट्टी लगाइएको बारमा स्थानीय केही व्यक्तिले डोजर चलाएर भत्काएपछि काम रोकिएको थियो । त्यसपछि धुर्मुस–सुन्तली काम छोडेर हिँडेका थिए ।
परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मुल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक पटक आह्वान गरेको तथा जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता आएपछि काममा फर्किन लागेको फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जनाएका छन् ।
उनले आफूहरु निःस्वार्थ, राष्ट्रभाव र सामाजिक दायित्व बोध गरी आफ्ना सबै निजी लाभका विषयहरुलाई भन्दा देशको विकासलाई शिरोपर गरेर काममा लागेको बताएका छन् ।
‘सबैको भावनालाई सम्मान गर्दै हरेक परियोजनाको नेतृत्व गरेका हौँ । हामीमा एउटै स्वार्थ छ, नेपाली भूमिमा सबैको साथ र सहयोगबाट निर्मित हाम्रो आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला हुनुपर्छ’, बिहीबार जारी गरिएको विज्ञप्तिमा कट्टेलले भनेका छन् ।
उनले विगतमा भएका जस्ता कार्य आगामी दिनमा नदोहोरियोस् भन्ने कामना समेत गरेका छन् ।
रंगशालाको बार भत्काइएपछि कुञ्जना घिमिरे ‘सुन्तली’ले दिएको अभिव्यक्तिको चर्काे आलोचना भएको थियो । उनले रंगशाखाको बार भत्काउनेहरु ‘देशद्रोही’ हुन् भनेकी थिइन् ।
बार भत्काउने कार्यमा संलग्न स्थानीय प्रकाश कँडेल लगायतका युवाहरु धरौटीमा रिहा भइसकेका छन् ।
प्रतिक्रिया