डिसेम्बर ८ ले दिन्छ त श्रृङ्खलालाई विश्व सुन्दरीको ताज ?

इनेप्लिज २०७५ मंसिर १२ गते १२:०९ मा प्रकाशित

काठमाडौं । चीनमा जारी विश्व सुन्दरी प्रतियोगिताको मल्टिमिडिया मतान्तरलाई मुल्यांकन गर्ने हो भने आगामी ८ डिसेम्बरमा हुने प्रतियोगिताका लागि नेपाल सुन्दरी श्रृङ्खला खतिवडाको प्रवेश लगभग निश्चित भएको छ ।

बुधबारपछि अन्य स्पर्धाका लागि भने अनलाइन मतको अवसर हुनेछैन, जसमा उनले आफ्नै क्षमतालाई प्रस्तुत गर्नुपर्ने हुन्छ । उनका अहिलेसम्मका विविध प्रकारका जानकारी अध्ययनका हिसाबले विश्व सुन्दरीको ताजनजिक देखाउँछ ।

तर कतिपय पूर्वसुन्दरीहरूको अनुभवले भने चुनौति कायम रहेको पनि देखाउँछ । आर्थिक सम्पन्न मुलुक नभएका कारणले पनि यस्ता प्रतियोगीतामा नेपालको सम्भावना अधिक नरहन सक्ने पूर्व नेपाल सुन्दरीहरूको अनुभव छ ।

तर, श्रृङ्खलामा देखिएको आत्मविश्वासले भने विश्व सुन्दरीको ताज आउसक्ने आँकलन स्वभाविक हो । उनले ‘नेपाललाई विश्व सुन्दरी’का रूपमा चिनाएर फर्किने आत्मविश्वास अगाडी सारेकी छन् ।

मल्टिमिडिया अवार्डका लागि ३६ प्रतिशत अनलाइन मत उनले पाइसकेकी छन् । विश्वका अन्य स्पर्धीका लागि कुनै जादुमयी मत नखसेको खण्डमा श्रृङ्खलालाई अर्को राउन्ड प्रवेशमा कुनै धक नै छैन ।

यो मत अन्यको तुलनामा निक्कै उच्च हो । तर, यसपछि खतिवडाको भाग्योदयको खेल उनको तिक्ष्णता, बौद्धिकता र विश्व परिवेशको जानकारीमा आधारित हुनेछ ।

इन्जिनियरिङकी विद्यार्थी श्रृङ्खलाले भनेकी पनि छन्,‘सुन्दरताले होइन, क्षमताले मुलुक चिनाउने कोशिश गर्छु ।’ त्यसैले पनि उनको हार्दिकता, समाजसेवा र सुन्दरताको समायोजन गरेरै उनलाई यस पटकको विश्व सुन्दरीका रूपमा हेरिएको छ ।

तुलनात्मक रूपमा सामान्य मतान्तरभन्दा धेरै माथि रहेका कारणले पनि श्रृङ्खलाले यो चरण पार गर्नसक्ने अनुमान गरिएको छ । नेपालीले निरन्तर उनलाई विश्वका विभिन्न मुलुकबाट अनलाइन मत दिइरहेका छन् ।

यसअघिका अन्य स्पर्धीभन्दा उनमा विश्व परिवेश, नेपालको सामाजिक, आर्थिक र राजनीतिक विषयमा बढि जानकारी रहेको सामान्य मुल्यांकन गर्न सकिन्छ । त्यसैले पनि विश्व सुन्दरीका सम्भावित उम्मेदवारको होडमा अध्येताहरूले एक सय २० जनामा उनको दाबेदारीलाई राखेका हुन् ।

यसअघि यस्तो दाबेदारीमा नेपाल सुन्दरीको नाम समेत आउने गरेको थिएन । कतिपय पहिलो राउन्डबाट नै घर फर्किने गरेका थिए ।

 

प्रतिक्रिया