मुस्ताङमा पाँच गाविसमा गाउँमै पुगेर राहत वितरण

इनेप्लिज २०७२ वैशाख २१ गते १०:४४ मा प्रकाशित

16018-thumbमुस्ताङ, २१ वैशाख । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका पाँच गाविसका भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षति भएका ७४ परिवारलाई क्षतिको आधारमा गाउँमा पुगेर राहत वितरण गरिएको हो । प्रारम्भिक रुपमा आएको जानकारीका आधारमा लेते, कोबाङ, कुञ्जो, जोमसोम र टुकुचे गाविसका भूकम्प पीडितलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।

भूकम्पले पूर्ण क्षति १६ परिवार र आंशिक क्षतिका ५८ परिवारलाई राहत वितरण गरिएको उहाँको भनाई छ ।

“घर पूर्णक्षति भएका परिवारलाई रु सात हजार र आंशिक क्षति भएकालाई रु तीन हजारका दरले राहत वितरण गरिएको हो, उहाँले भन्नुभयो, “अन्य गाविसमा पनि छिट्टै जानेछौँ ।” भूकम्प पीडितलाई मुस्ताङ उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस उपशाखाले थप रु १५÷१५ सय उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा मानवीय क्षति नभए पनि भूकम्पका कारण करोडौँ रुपैयाँका ऐतिहासिक सम्पदा, मठमन्दिर र घर भवनमा क्षति पुगेको बताइएको छ । पछिल्लो तथ्याङ्क अनुसार जिल्लाका ३१२ वटा घर र भवनमा क्षति पुगेको छ ।

प्रतिक्रिया