शिशिर सिंखडा
पदमपुर, चितवन, २४ माघ ।
चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा विद्यालयको स्तरोन्नती एवम् मन्दिर निर्माण तथा जीर्णोद्वार गर्ने उद्देश्यले आजबाट धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्न सो आध्यात्मरामायण धनधान्याञ्चल नवाह भक्ति ज्ञान महायज्ञ गर्न लागिएको हो ।
धनधान्याञ्चल कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले आज बुधबार महायज्ञको उद्घाटन गर्दै महायज्ञको आम्दानीबाट सामाजिक विकास हुनु महत्वपूर्ण कार्य भएको बताएका छन् । धर्म र संस्कृतिको जगेर्ना गर्दै संकलित रकमबाट सामाजिक विकास हुनु राज्यकै लागि फाइदा पुग्ने उनले बताए । हिन्दु धर्म देशकै महत्वपूर्ण धर्म रहेको भन्दै जिल्ला प्रमुख डल्लाकोटीले धार्मिक संस्कारबाट मानिस अनुशासनमा रहने र व्यक्ति, घर तथा समाज विकसित हुँदै जाने समेत उनले बताए ।
कार्यक्रममा कालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख विनोद रेग्मीले धनधान्याञ्चल महायज्ञ मार्फत विद्यालयको स्तरोन्नति र विभिन्न सामाजिक कामको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । धर्म संस्कृतिको जगेर्ना गर्दै यसको माध्यमबाट सामाजिक काम हुनु सह्रानीय भएको बताए । धर्म संस्कृतिको माध्यमबाट यसको सही सदुपयोग गर्दै सामाजिक काममा हिन्दु धर्मले धेरै नै महत्वपूर्ण योगदान पु¥याइसकेको समेत कार्यवाहक नगर प्रमुख रेग्मीले बताए ।
मूल समारोह समितिका संयोजक केशब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजाल, सचिवालय सदस्य दिवस पाण्डे, होमनाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो महायज्ञ आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञबाट करीब १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । संकलित रकमबाट स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नुका साथै ज्योतीविन्दु मुक्तेश्वर महादेवको मन्दिरको जीर्णोद्वार समेत गरिने आयोजकले बताएका छन् ।
महायज्ञको उद्घाटन कार्यक्रम हुनु अगाडि बाजागाजा सहितको कलश यात्राले पदमपुरको विभिन्न स्थान परिक्रमा गरेको थियो । सो कलशयात्रामा विद्यालयका विद्यार्थी लगायत पदमपुरका स्थानीय बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया