कपिलवस्तुमा थप ३९ विद्यालयलाई अनुमति

इनेप्लिज २०७२ वैशाख ५ गते ६:०४ मा प्रकाशित

तौलिहवा (कपिलवस्तु), ५ वैशाख । कपिलवस्तु जिल्लामा पछिल्लो पटक थप ३९ विद्यालयले सञ्चालन अनुमति पाएका छन् ।

जिल्ला शिक्षा समितिले प्रावि, निमावि, मावि र गुठी संस्थान सञ्चालन गर्न सो अनुमति दिएको हो । शिक्षा समितिको बैठकले सामुदायिक र संस्थागत गरी २० वटा प्रावि, १३ वटा निमावि, छ वटा मावि र एक गुठी संस्थालाई अनुमति दिएको सहायक जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले बताउनुभयो ।

अनुमति पाउनेमा सामुदायिक प्रावि तीन, संस्थागत १६, सामुदायिक निमावि पाँच, संस्थागत आठ तथा सामुदायिक मावि एक र संस्थागत पाँच मावि छन् । प्रावि र निमावि सञ्चालनका लागि समितिको निर्णयअनुसार शिक्षा कार्यालयले अनुमति दिने प्रावधान रहेको छ ।

मावि सञ्चालनका लागि क्षेत्रीय कार्यालय पोखरामा सिफारिस गरी पठाइएको छ । शिक्षा ऐन, २०२८ को दफा ३ र नियमावलीअनुसार जिल्लामा विद्यालय सञ्चालनका लागि अनुमति दिइएको हो । विद्यालय सञ्चालनका लागि कुल १०३ प्रस्ताव आएको थियो ।

यता जिल्ला शिक्षा अधिकारी हरिप्रसाद गौतमले विद्यालय निरीक्षक र स्रोत व्यक्तिले विद्यालयको निरीक्षण गरी शिक्षामा पेस गरेका सुझावअनुसार शिक्षा समितिले सो अनुमति दिएकोे बताउनुभयो । नयाँ अनुमतिसँगै जिल्लामा ४२८ सामुदायिक र १२२ संस्थागत विद्यालय भएका छन् ।

प्रतिक्रिया