काठमाडौँ, ९ फागुन । भूकम्पपछिको पुनःनिर्माणमा रहेका विद्यालय, स्वास्थ्य संस्था र ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा थप सहयोग गर्न चीनले इच्छा प्रकट गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेललाई आज भेट गर्नुहुँदै चिनियाँ राजदूत यु हाङले यस्तो प्रतिबद्धता जनाउनुभएको प्रवक्ता यामलाल भुसालले राससलाई जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले भूकम्पपछि चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्नुहुँदै पुनःनिर्माण अभियानलाई सफल बनाउन छिमेकी मुलुकसँग सहकार्य गरिने बताउनुभयो ।
राजदूत हाङले चिनियाँ सहयोगमा सञ्चालित आयोजनालाई दुवै मुलुकको संयुक्त पहलमा सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेपालका लागि फ्रान्सका राजदूत यभ्स कारमोनाले पनि आजै प्रमुख कार्यकारी अधिकृत पोखरेलसँग भेट गरी शिक्षा क्षेत्रको पुनःनिर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया