यमबुद्धप्रति श्रद्धाञ्जलि व्यक्त, बुधबार शवको पोष्टमार्टम गरिने

इनेप्लिज २०७३ माघ २ गते १४:३२ मा प्रकाशित

लन्डन, २ माघ । शनिबार बिहान लण्डनमा निधन भएका यमबुद्ध भनेर चिनिने चर्चित युवा गायक अनिल अधिकारीप्रति उनका प्रशंसकहरूले सामाजिक सञ्जालमा श्रद्धान्जलि व्यक्त गरेका छन् ।

बीबीसी नेपाली सेवाका अनुसार लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेका थिए ।

उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए । मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी (कोरोनर) समक्ष पठाइएको पनि उनले बताए ।

अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ ।
यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो ।

उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राति कामबाट फर्केर सुत्न गएका थिए । तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो ।

र्‍यापर अधिकारीले ‘आमा, जुत्तामा, साथी’ जस्ता कैयौं चर्चित गीतहरु गाएका छन् ।

प्रतिक्रिया