वैद्य नेतृत्वको माओवादीको क्रान्तिकारी युवा लीगको अध्यक्षमा कँवर मगर

इनेप्लिज २०७१ फागुन २८ गते १४:१८ मा प्रकाशित

mohan-baidhya-kiranकाठमाडौँ, २८ फागुन । नेकपा–माओवादीको युवा सङ्गठन ‘क्रान्तिकारी युवा लीग, नेपाल’ को पहिलो राष्ट्रिय भेलाले नेवबहादुर कँवर मगरको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिगका महासचिव दीपक देवकोटाले जनसेवा, जनसुरक्षा र राष्ट्र रक्षाको उद्देश्यसहित युवाहरुको सङ्गठनको रुपमा लिगको गठन गरिएको जानकारी दिनुभयो ।

लिगको फ्र्याक्सन इञ्चार्जको रुपमा माओवादी स्थायी समिति सदस्य कुलप्रसाद केसी रहनुभएको छ ।

फागुन २६ र २७ सम्म चलेको लिगको भेलाले उपाध्यक्षमा नेपबहादुर चौधरी, विजय साम्पाङ राई, महासचिव दीपक देवकोटा, सचिव खड्गराज सेजुवाल र कोषाध्यक्ष गङ्गा कार्कीलाई निर्वाचित गरेको छ ।

भेलामा माओवादीका अध्यक्ष मोहन वैद्यले सङ्गठनलाई जुझारु र सुदृढ सङ्गठनको रुपमा विकास गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा दृढताका साथ अग्रसर हुन लिगका सदस्यहरुलाई निर्देशन दिनुभएको थियो ।

लिगले बेरोजगार युवाहरु, क्लबहरु, स्कूल÷कलेजहरु, कारखानाहरु, सुकुम्वासी भूमिहीन तथा पेसागत क्षेत्रलाई कर्मथलो बनाउँदै अधिकारसहितको समृद्धिको लागि आन्दोलनरत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बारा, पर्सालगायत देशका विभिन्न भागमा बालिका बलात्कार गर्ने जघन्य अपराधीमाथि हदैसम्म सजाय गर्न र महिला हिंसाको अन्त्य गर्न पनि लिगले माग गरेको छ ।

प्रतिक्रिया