४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसमा गायिका गीता पाण्डेको ‘डुबिसक्यो सबै’ सार्वजनिक, काठमाडौँ र दार्जीलिङलाई जोड्ने साङ्गीतिक सेतु

इनेप्लिज २०८३ असार ७ गते १२:२७ मा प्रकाशित

काठमाडौँ, ७ असार (२०८६):

४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो सबै’ आधिकारिक रूपमा सार्वजनिक भएको छ। रङ्गकर्मी तथा प्रख्यात गीतकार किरण ठकुरीको उत्कृष्ट शब्द रचना र वरिष्ठ सङ्गीतकार मणिकमल क्षेत्रीको स्तरीय सङ्गीत संयोजनमा यो गीत तयार पारिएको हो।

सार्वजनिक गरिएको यस गीतले नेपाल र भारतबीचको साङ्गीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै काठमाडौँ र दार्जीलिङबीच एउटा बलियो साङ्गीतिक सेतुको काम समेत गरेको छ। गीतका रचनाकार ठकुरी र सङ्गीतकार क्षेत्री दुवै जना कला र साहित्यको उर्वर भूमि दार्जीलिङमा रहेर लामो समयदेखि नेपाली सङ्गीत आकाशमा सक्रिय हुनुहुन्छ भने गायिका पाण्डे काठमाडौँमा रहेर साङ्गीतिक यात्रामा निरन्तर लागिपर्नुभएको छ। दुई फरक क्षेत्रका दिग्गज प्रतिभाहरूको यो सहकार्यले नेपाली सुगम सङ्गीतमा एउटा नयाँ आयाम थपेको विश्वास गरिएको छ।

यो गीत विशेष गरी प्रेममा पाएको गहिरो चोट, समयको क्रूरता, र सबथोक गुमाएर पनि बाँच्नुपर्ने एउटा विवश आत्माको कारुणिक कथामा आधारित छ; जसलाई सुमधुर तर विरही धुनमा निकै मार्मिक ढङ्गले बुनिएको छ।

डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको यस गीतलाई सुनेर आफ्नो अमूल्य प्रतिक्रिया, सुझाव तथा सल्लाह प्रदान गरिदिनुहुन गायिका पाण्डे तथा निर्माण टिमले सम्पूर्ण आदरणीय श्रोतावृन्दमा हार्दिक अनुरोध गरेको छ। साथै, श्रोताहरूको चाहनालाई ध्यानमा राख्दै यस उत्कृष्ट अडियो गीतको भिडियो पनि चाँडै नै निर्माण गरी बजारमा ल्याइने जानकारी निर्माण पक्षले गराएको छ।

प्रतिक्रिया