
महिला झरी दर्के जस्तो गरी, माया माग्न आएँ
बस्न दिएनौ बलेसीमा, झरी मात्र पाएँ
पुरुष आगो मागे जस्तो गरी, माया माग्न आयौ
भने जस्तो भएन भनी, मलाई दोष लायौ
महिला हाँस्नलाई मेरा ओठ, रुनलाई हैन
जति मनलाई बुझाए पनि, कतै चैन छैन
दुनियाँको आँखा छली, तिमीलाई भेट्न गाएँ
बस्न दिएनौ बलेसीमा, झरी मात्र पाएँ
पुरुष पित्तल झै चम्किएर सुनको भाउ पाइँदैन
तिम्रो मात्र कुरा सुनी, पछि पछि आइँदैन
धरती आकाशमा मिले सरी, माया माग्न आयौ
भने जस्तो भएन भनी, मलाई दोष लायौ
महिला राम्रो मान्छे भनी ठानेँ, बास्ना मात्रै डाँडावारि
धोका दिन्या रैछौ तिमी, मन त रैछ डाँडापारि
गाउन हतार किन भयो, तिम्रै गीत गाएँ
बस्न दिएनौ बलेसीमा, झरी मात्र पाएँ
पुरुष जरुवाको पानी खोज्यौ, तिर्खा कतै मेटियो कि
धुँवा भएतिर गयौ, आगो कतै भेटियो कि
सागर अट्ने रहर बोकी, सपना बोकी आयौ
भने जस्तो भएन भनी, मलाई दोष लायौ
–श्रमिक बराल, पोखरा, कास्की ।

प्रतिक्रिया